२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको सहकारीले बागलुङमा एक लाखमूनिका सबै बचतकर्तालाई रकम फिर्ता दिइसकेको र पोखराका १ सय ५८ जनालाई फिर्ता दिन थालिएको सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार बागलुङका ६ सय १३ जनाको करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ । सोमबार पोखरा शाखाका ५२७ जनामध्ये एक लाख मूनि बचत रहेका १५८ जनालाई रकम फिर्ता गर्न थालिएको कार्कीले बताए । उनीहरुको करिब एक करोड रुपैयाँ फिर्ता गर्नुेपर्ने उनको भनाइ छ ।
उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङमा १ हजार ५७४ र पोखरामा ५२४ बचतकर्ताको १ अर्ब ९५ करोड रुपैयाँ डुबेको अदालत दायर भएको अभियोग पत्रमा उल्लेख गरिएको थियो । हालसम्म बागलुङका १ हजार ५०६ जना र पोखराका ३८७ जनासँग मिलापत्र भइसकेको पीडित संघर्ष समितिका संयोजक कार्कीले बताए । एक लाख मूनि बचत रहेकाहरुको बचत फिर्ता गरिसकिएको र एक लाखभन्दा माथि रहेकाहरुको हकमा भने मिलापत्र गरिएको कार्कीले बताए ।
एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।
समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।
संघर्ष समितिको सक्रियतामा संस्थापक देवकुमार नेपालीले बचतकर्तासँग मिलापत्र गरेका हुन् । देवकुमार नेपाली पूर्पक्षका लागि थुनामा छन् । बचतकर्तासँग उनका दाइले मिलापत्र गरेका छन् । पीडित संघर्ष समितिका संयोजक कार्कीले अदालती प्रक्रियामा जाँदा पैसा फिर्ता नहुने देखेपछि मिलापत्रमा लागिएको उल्लेख गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij