२०८२ भाद्र १२ गते बिहिवार
शान्तिका अग्रदूतको जन्मभूमि, जीवनको एक अमूल्य तीर्थ ।
एक तीर्थयात्रा– जो बाहिर होइन, भित्रतिर लैजान्छ ।
शीघ्रगामी, कोलाहल र तनावले भरिएको वर्तमान संसारमा यदि कुनै यस्तो भूमि छ, जहाँ पुग्नासाथ पाइलाहरू आफैँ रोकिन्छन्, मनका तरङ्ग शान्त हुन थाल्छन् र आत्माले एक अनौठो शीतलताको अनुभव गर्दछ भने, त्यो पुण्यभूमि हो- लुम्बिनी ।
करुणा, अहिंसा र विश्व–बन्धुत्वको शाश्वत सन्देश दिने महामानव, एसियाका तारा, भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल हो, इँटा, ढुङ्गा र माटोले बनेको यो भौगोलिक संरचना । यहाँको हावामा मैत्रीको सुगन्ध छ, यहाँका वृक्षका पातमा ध्यानको सङ्गीत छ र यहाँका धूलोका कणकणमा त्याग, तपस्या र ज्ञानको गौरवशाली गाथा लुकेको छ ।
इतिहासका पानाहरू आँखाअगाडि जीवन्त हुन्छन् लुम्बिनी पुग्दा, जहाँ विभिन्न देशका कला र संस्कृतिले पर्यटकलाई एउटै प्राङ्गणमा स्वागत गर्छन् र भौतिक संसारभन्दा परको आध्यात्मिक शान्तिको गहिराइमा डुबाउँछन् । अर्थात्, इतिहास, अध्यात्म, संस्कृति र प्रकृतिले अविस्मरणीय अनुभूति गराउँछन् यहाँ ।
काठमाडौंबाट लगभग ३०० किलोमिटरको दूरीमा रहेको यो शान्तिभूमिमा पुग्न अत्यन्तै सहज छ आजकल । काठमाडौं र पोखराबाट सुविधाजनक टुरिस्ट बससेवा सञ्चालनमा छन् भने भैरहवामा निर्मित गौतम बुद्ध विमानस्थलले पनि लुम्बिनीलाई जोडेको छ । यो यात्रालाई छिटो, छरितो र आरामदायी बनाउन विभिन्न वायुसेवाका घरेलु उडान पनि उपलब्ध छन् ।
विमानस्थलबाट करिब १६ किलोमिटरको रमणीय यात्रापछि जब बुद्धभूमिमा प्रवेश गरिन्छ, तब कुनै अलौकिक संसारमा आइपुगेको भान हुन्छ । लुम्बिनी क्षेत्रको प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै दुवैतिर फुलेका रङ्गीबिरङ्गी फूलहरूको सुगन्धित वासनाले स्वागत गर्दछ र मनलाई प्रफुल्लित बनाउँछ । किनकि यहाँ शान्तिबाहेक अरू केही छैन ।
पवित्र उद्यानमा आध्यात्मिक जागरण
यात्राको पहिलो दिन लुम्बिनीको आत्मा, अर्थात् पवित्र उद्यान क्षेत्रको गहिरो अन्वेषणमा समर्पित गर्न सकिन्छ । यो त्यही पवित्र स्थल हो, जहाँ ईसापूर्व ६२३ मा वैशाख पूर्णिमाको दिन महारानी मायादेवीले शालवृक्षको हाँगा समातेर एक असाधारण बालक सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यही बालकले पछि सम्पूर्ण विश्वलाई ज्ञानको प्रकाशले उज्यालो पारे ।
१. आस्थाको जीवन्त केन्द्रविन्दुः मायादेवी मन्दिर
यो यात्राको मुख्य आकर्षण मायादेवी मन्दिर हो । सेतो रङको यो मन्दिर बाहिरबाट जति सुन्दर र शान्त देखिन्छ, भित्र प्रवेश गर्दा त्यसको हजारौँ गुणा बढी आध्यात्मिक ऊर्जा र सकारात्मक कम्पनको अनुभव हुन्छ । यो करोडौँ श्रद्धालुहरूको आस्थाको केन्द्र र मानवताको इतिहासको एउटा महत्वपूर्ण अध्यायको ज्वलन्त साक्ष्य पनि हो ।
मन्दिरभित्र रहेको प्रस्तर मूर्तिले मायादेवीले रुखको हाँगा समातेर बुद्धलाई जन्म दिइरहेको मार्मिक र ऐतिहासिक दृश्यलाई चित्रण गर्दछ । यस मूर्तिको दर्शन गर्दा २५०० वर्षभन्दा पुरानो त्यो दिव्य क्षणको साक्षी बनेको महसुस हुन्छ । मन्दिरभित्र फन्को मार्दै गर्दा पर्यटकले विभिन्न कालखण्डका पुरातात्विक अवशेष देख्न सक्छन्, जसले यस स्थानको प्राचीनतालाई प्रमाणित गर्छ ।
मन्दिरको गर्भमा ‘बुलेट प्रुफ’ सिसाले सुरक्षित राखिएको एउटा ढुङ्गा छ, जसलाई ‘जन्म स्मारक शिला’ (मार्कर स्टोन) भनिन्छ । सन् १९९६ मा गरिएको पुरातात्विक उत्खननबाट पत्ता लागेको यो शिलाले भगवान् बुद्धको जन्म भएको यथार्थ स्थानलाई किटान गर्दछ । त्यही पवित्र बिन्दुमा उभिएर ढुङ्गालाई हेर्दा र यसको महत्व बुझ्दा शरीरमा अनौठो रोमाञ्च पैदा हुन्छ । यहीँबाट विश्वलाई शान्तिको सन्देश दिने महापुरुषको भौतिक यात्रा सुरु भएको थियो ।
पवित्र उद्यानमा आध्यात्मिक जागरण
यात्राको पहिलो दिन लुम्बिनीको आत्मा, अर्थात् पवित्र उद्यान क्षेत्रको गहिरो अन्वेषणमा समर्पित गर्न सकिन्छ । यो त्यही पवित्र स्थल हो, जहाँ ईसापूर्व ६२३ मा वैशाख पूर्णिमाको दिन महारानी मायादेवीले शालवृक्षको हाँगा समातेर एक असाधारण बालक सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यही बालकले पछि सम्पूर्ण विश्वलाई ज्ञानको प्रकाशले उज्यालो पारे ।
१. आस्थाको जीवन्त केन्द्रविन्दुः मायादेवी मन्दिर
यो यात्राको मुख्य आकर्षण मायादेवी मन्दिर हो । सेतो रङको यो मन्दिर बाहिरबाट जति सुन्दर र शान्त देखिन्छ, भित्र प्रवेश गर्दा त्यसको हजारौँ गुणा बढी आध्यात्मिक ऊर्जा र सकारात्मक कम्पनको अनुभव हुन्छ । यो करोडौँ श्रद्धालुहरूको आस्थाको केन्द्र र मानवताको इतिहासको एउटा महत्वपूर्ण अध्यायको ज्वलन्त साक्ष्य पनि हो ।
मन्दिरभित्र रहेको प्रस्तर मूर्तिले मायादेवीले रुखको हाँगा समातेर बुद्धलाई जन्म दिइरहेको मार्मिक र ऐतिहासिक दृश्यलाई चित्रण गर्दछ । यस मूर्तिको दर्शन गर्दा २५०० वर्षभन्दा पुरानो त्यो दिव्य क्षणको साक्षी बनेको महसुस हुन्छ । मन्दिरभित्र फन्को मार्दै गर्दा पर्यटकले विभिन्न कालखण्डका पुरातात्विक अवशेष देख्न सक्छन्, जसले यस स्थानको प्राचीनतालाई प्रमाणित गर्छ ।
मन्दिरको गर्भमा ‘बुलेट प्रुफ’ सिसाले सुरक्षित राखिएको एउटा ढुङ्गा छ, जसलाई ‘जन्म स्मारक शिला’ (मार्कर स्टोन) भनिन्छ । सन् १९९६ मा गरिएको पुरातात्विक उत्खननबाट पत्ता लागेको यो शिलाले भगवान् बुद्धको जन्म भएको यथार्थ स्थानलाई किटान गर्दछ । त्यही पवित्र बिन्दुमा उभिएर ढुङ्गालाई हेर्दा र यसको महत्व बुझ्दा शरीरमा अनौठो रोमाञ्च पैदा हुन्छ । यहीँबाट विश्वलाई शान्तिको सन्देश दिने महापुरुषको भौतिक यात्रा सुरु भएको थियो ।
२. अशोक स्तम्भः इतिहासको अकाट्य साक्षी
मायादेवी मन्दिरको ठीक पश्चिमपट्टि मौर्य सम्राट अशोकद्वारा ई. पू. २४९ मा स्थापित अशोक स्तम्भ आफ्नो गौरवशाली इतिहास बोकेर शिर ठाडो पारी उभिएको छ । यो स्तम्भ भगवान् बुद्धको जन्मस्थल हो भन्ने सबैभन्दा पुरानो, बलियो र अकाट्य ऐतिहासिक प्रमाण हो ।
करिब ६ मिटर अग्लो यो स्तम्भमा ब्राह्मी लिपि र पाली भाषामा कुँदिएको शिलालेखमा ‘यहाँ शाक्यमुनि बुद्ध जन्मनुभएको थियो’ भन्ने स्पष्ट लेखिएको छ । सम्राट अशोकले आफ्नो राज्याभिषेकको बीसौँ वर्षमा यो तीर्थयात्रा गरी बुद्धको जन्मस्थलप्रतिको सम्मान स्वरूप यो स्तम्भ स्थापना गरेका थिए । उनले यहाँका बासिन्दालाई कर छुट दिएको कुरा पनि स्तम्भमा उल्लेख छ, जसले त्यस समयको प्रशासनिक प्रणालीको पनि झलक दिन्छ । यो स्तम्भलाई स्पर्श गर्नु भनेको समयको गहिराइमा डुब्नु र २५०० वर्षभन्दा पुरानो इतिहासलाई जीवन्त रूपमा अनुभूत गर्नु हो ।
३. पुष्करिणी पोखरीः पवित्र स्नानको प्रतीक
मन्दिर परिसरमा रहेको पुष्करिणी पोखरी त्यो पवित्र सरोवर हो, जहाँ बुद्धलाई जन्म दिनुअघि मायादेवीले स्नान गरेकी थिइन् र जन्मपश्चात् नवजात शिशु सिद्धार्थलाई पनि यही पोखरीमा पहिलो पटक स्नान गराइएको थियो भन्ने गहिरो विश्वास छ । आज पनि यो पोखरी त्यही पवित्रता र शान्तिको प्रतीक बनेको छ । यसको चारैतिर रहेका प्राचीन विहारका खण्डहरहरूले लुम्बिनीको प्राचीनताको कथा बोल्छन् । पोखरीको शान्त, हरियो जल सतहमा मायादेवी मन्दिर र वरपरको वृक्षका प्रतिबिम्ब हेर्दा मन स्वतः ध्यानमग्न हुन्छ । अवर्णनीय छ, यहाँको शान्त वातावरणमा केही बेर बसेर चिन्तन–मनन गर्दा पाइने आनन्द ।
४. अन्तर्राष्ट्रिय विहार क्षेत्रः विश्व संस्कृतिको अनुपम सङ्गम
पवित्र उद्यानको आध्यात्मिक भ्रमणपछि यात्रालाई अन्तर्राष्ट्रिय विहार (मोनास्ट्री) क्षेत्रतर्फ अगाडि बढाउन सकिन्छ । लुम्बिनी गुरुयोजनाअनुसार पूर्वी र पश्चिमी क्षेत्रमा विभाजित यो क्षेत्र साँच्चिकै एउटा सानो बौद्ध विश्व हो । यहाँ विभिन्न देशहरूले आ–आफ्नो राष्ट्रिय शैली, कला र वास्तुकला झल्किने गरी भव्य तथा आकर्षक गुम्बा, चैत्य र विहारहरू निर्माण गरेका छन् ।
यो क्षेत्रको भ्रमण गर्नु भनेकै एउटै स्थानमा बसेर विश्वका विभिन्न कुनाहरूको सांस्कृतिक र कलात्मक यात्रा गर्नु हो । थाइल्याण्डको शाही विहारः सेतो सङ्गमरमरले बनेको यो विहार थाई वास्तुकलाको अनुपम नमुना हो । यसको भव्यता र कलात्मकताले पाहुनालाई मन्त्रमुग्ध बनाउँछ । चीनको भव्य विहारः चिनियाँ तत्कालीन शाही दरबारको झल्को दिने यो विहार आफ्नो विशालता तथा रातो सुनौलो रङको कलात्मक संयोजनका लागि प्रसिद्ध छ ।
म्यानमारको स्वर्ण पगोडाः यङ्गुनको प्रसिद्ध श्वेडागन पगोडाको शैलीमा बनेको यो सुनौलो पगोडाले सबैको ध्यान आकर्षित गर्छ ।
जर्मनीको विहारः लुम्बिनीमा रहेको जर्मनीको विहारलाई ‘द ग्रेट द्रिगुङ काग्युड लोटस स्तूप’ पनि भनिन्छ। यो यस क्षेत्रको सबैभन्दा मनमोहक संरचनाहरू मध्ये एक हो । यसको विशाल र कलात्मक स्तूपले आगन्तुकहरूलाई आकर्षित गर्छ र शान्ति र सद्भावको सन्देश दिन्छ ।
युरोपेली विहारः लुम्बिनीमा विशेष गरी फ्रान्सको छुट्टै विहार नभए पनि, युरोपेली देशहरूको प्रतिनिधित्व गर्ने ‘युरोपियन–अस्ट्रियन टेम्पल’ रहेको छ, जसलाई स्विजरल्याण्डको राब्टेन फाउन्डेसनले निर्माण गरेको हो । यस विहारको उद्देश्य भगवान बुद्धको शुद्ध शिक्षालाई प्रवद्र्धन गर्नु हो । यसको वेदीमा भगवान बुद्धको जन्मको दृश्यलाई ब्रह्मा, इन्द्र र अन्य देवताहरूको साथमा सुन्दर ढंगले चित्रण गरिएको छ ।
पाल थुब्तेन शेद्रुब लिङ्ग गुम्बाः तिब्बती बौद्ध गुरु छोकी निमा रिन्पोछेको अग्रसरतामा अन्तर्राष्ट्रिय सहयोगबाट निर्मित यो गुम्बा लुम्बिनीको एक महत्वपूर्ण आकर्षण हो । यसलाई ‘हजार बुद्ध मन्दिर’ पनि भनिन्छ । गुम्बाको मुख्य हलमा दीपंकर, शाक्यमुनि र मैत्रेय बुद्धका तीन विशाल सुनौला मूर्तिहरू छन्, जसको वरिपरि हजारौँ साना बुद्धका मूर्तिहरू सजाइएका छन् । यो गुम्बा बौद्ध धर्मको अध्ययन, ध्यान र प्रार्थनाको लागि एक पवित्र स्थलको रूपमा विकास भइरहेको छ ।
श्रीलङ्का, कम्बोडिया, भियतनाम, कोरियाका विहारहरूः यी प्रत्येक विहारको अआफ्नै विशिष्ट कला, संस्कृति र प्रार्थनाको शैली छ । कतै ध्यान गरिरहेका भिक्षुहरू भेटिन्छन् त कतै मधुर स्वरमा उनीहरू मन्त्रोच्चारण सुनिन्छ । एकै दिनमा यी सबै विहारहरूको भ्रमण गर्न असम्भवप्रायः छ, तर पर्यटकहरूले आफ्नो रुचिअनुसार केही प्रमुख विहारको भ्रमण गरेर अन्तर्राष्ट्रिय बौद्ध संस्कृतिको अनुपम अनुभव सँगाल्न सक्छन् ।
नेपालको वज्रयान महाविहारः लुम्बिनीको अन्तर्राष्ट्रिय विहार क्षेत्रमा अवस्थित ‘नेपाल वज्रयान महाविहार’ ले काठमाडौँ उपत्यकाको मौलिक बौद्ध वास्तुकला र सम्पदालाई जीवन्त रूपमा प्रस्तुत गर्दछ । यो विहार नेपालको वज्रयान बौद्ध परम्पराको एक महत्वपूर्ण प्रतिनिधि हो । काठमाडौका परम्परागत बहाल तथा बहीहरूको शैलीमा निर्माण गरिएको यस विहारमा प्रयोग भएका डाँची अप्पा (परम्परागत नेपाली इँटा) र कलात्मक काठका झ्यालहरूले यसलाई विशिष्ट पहिचान दिएका छन् । विहारको बीचमा रहेको वर्गाकार आँगन, कलात्मक तोरण र भित्रपट्टि स्थापित महाकाल, गणेश, वसुन्धरा र आर्यताराजस्ता वज्रयानी देवीदेवताका प्रतिमाहरूले यसको आध्यात्मिक गहनतालाई उजागर गरेका छन् ।
पाल थुप्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर): हालै निर्माण सम्पन्न भएको यो गुम्बा लुम्बिनीको एक नयाँ आध्यात्मिक आकर्षण हो । यसको मुख्य आकर्षण भनेको विशाल प्रार्थना हलमा राखिएका हजारौँ बुद्धका मूर्तिहरू हुन् । हलको बीचमा भूत, वर्तमान र भविष्यका तीन बुद्ध (विपश्यी, शाक्यमुनि र मैत्रेय) का विशाल सुनौलो मूर्तिहरू छन्, जसलाई हजारभन्दा बढी साना सुनौला मूर्तिहरूले घेरेका छन् । यो दृश्य अत्यन्तै मनमोहक र आध्यात्मिक ऊर्जाले भरिपूर्ण छ । एकै स्थानमा हजार बुद्धको दर्शन गर्दा हजार गुणा बढी पुण्य प्राप्त हुने विश्वासले यसलाई एक महत्वपूर्ण तीर्थस्थल बनाएको छ ।
शान्ति दीप र बाल बुद्धको प्रतिमा
पहिलो दिन: यो आध्यात्मिक र सांस्कृतिक यात्राले मन र मस्तिष्कलाई पूर्ण रूपमा तरोताजा बनाइदिन्छ । साँझमा, विश्व शान्ति दीपमा प्रज्वलित अनन्त ज्वालाको दर्शन गर्दै दिनभरिको अनुभवलाई मनन गर्न सकिन्छ । यो ज्वाला बुद्धका शिक्षाजस्तै, संसारमा शान्ति र सद्भावको प्रकाश फैलाउन निरन्तर बलिरहेको छ । मायादेवी मन्दिरबाट शान्ति दीपसम्म जाने बाटोमा अथवा त्यसको निकटमा सुनौलो र आकर्षक बाल बुद्धको प्रतिमा पनि देख्न सकिन्छ, जसले लुम्बिनीको सौन्दर्य र आध्यात्मिकतालाई अझ बढाएको छ ।
दोस्रो दिनः बुद्धको बाल्यकाल र इतिहासको गहिराइमा लुम्बिनीको यात्रा केवल बुद्धको जन्मस्थलमा मात्र सीमित छैन । यो त विशाल बुद्धकालीन सभ्यताको केन्द्रविन्दु थियो । यसको वरिपरि बुद्धको बाल्यकाल र शाक्य गणराज्यको गौरवशाली इतिहासका पानाहरू छरिएर रहेका छन्, जसलाई नपढी यो यात्रा अधुरो र अपुरो रहन्छ । दोस्रो दिन पर्यटकहरू ती ऐतिहासिक र पुरातात्विक महत्वका स्थलहरूतर्फ जान सक्छन् । यसलाई ‘बृहत लुम्बिनी क्षेत्र’ भनेर चिनिन्छ ।
१. तिलौराकोटः शाक्य गणराज्यको राजधानी र सिद्धार्थको क्रिडास्थल
लुम्बिनीबाट करिब ३० किलोमिटर पश्चिमको, बाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोट, प्राचीन कपिलवस्तु राज्यको राजधानी थियो । यो त्यही ठाउँ हो, जहाँ राजकुमार सिद्धार्थले आफ्नो जीवनका २९ वसन्त राजसी सुखसयल र वैभवमा बिताएका थिए ।
राजकुमार सिद्धार्थको बुद्ध बन्नुअघिको जीवनको प्रमुख साक्षी हो, यो स्थान । उनले पहिलो पटक वृद्ध, बिरामी, मृत व्यक्ति र एक सन्यासी यहीँ देखेका थिए । यिनै दृश्यले उनलाई दरबारको सुखसयल त्यागेर ज्ञानको खोजीमा निस्कन प्रेरित गरेका थियो । यहाँका भग्नावशेषहरूले आज पनि त्यही इतिहास बोलछन् ।
पुरातात्विक अन्वेषणः पुरातात्विक उत्खननबाट दरबारका बाक्ला पर्खाल, पूर्वी र पश्चिमी द्वार, किल्ला र २५०० वर्ष पुरानो मानव बस्तीका अवशेषहरू फेला परेका छन्, जसले त्यस समयको संगठित र विकसित सभ्यताको झलक दिन्छ । हालैका अनुसन्धानहरूले तिलौराकोटको इतिहास बुद्धकालीन समयभन्दा पनि ३०० वर्ष पुरानो, अर्थात् करिब २८०० वर्ष पुरानो भएको देखाएको छ । यहाँको पुरातात्विक स्थलमा हिँड्दा पर्यटकलाई लाग्छ कि ऊ इतिहासको कुनै कालखण्डमा प्रवेश गरेको छ । हावा चल्दा हुने रूखका पातहरूको सरसराहटले युवा सिद्धार्थको पदचाप सुनिएझैँ भान हुन्छ । तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको छ, जसले यसको विश्वव्यापी महत्वलाई थप उजागर गर्नेछ ।
२. कुदान (निग्रोधाराम): पितापुत्रको ऐतिहासिक पुनर्मिलन
तिलौराकोटबाट केही किलोमिटरको दूरीमा रहेको कुदान अर्को अत्यन्तै महत्वपूर्ण स्थल हो । ज्ञान प्राप्त गरेको केही वर्षपछि भगवान् बुद्ध पहिलो पटक आफ्नो गृह नगर कपिलवस्तु फर्किनुभयो र आफ्ना पिता राजा शुद्धोधन, पत्नी यशोधरा, पुत्र राहुल र परिवारका अन्य सदस्यहरूलाई यही स्थानमा भेटे । यो पितापुत्र र पतिपत्नीको ऐतिहासिक र मार्मिक पुनर्मिलनको साक्षी स्थल हो । बुद्धले आफ्ना परिवारका सदस्यहरूलाई धर्मोपदेश यहीँ दिनुभएको थियो र उनकी सौतेनी आमा प्रजापतिलाई भिक्षुणी संघमा प्रवेश गराएर विश्वको पहिलो भिक्षुणी बनाउनुभएको थियो । यहाँ रहेका स्तूपका भग्नावशेषहरूले ती ऐतिहासिक घटनाहरूको मौन स्मरण गराउँछन् ।
३. निग्लिहवा र गोटीहवाः प्रागगौतम बुद्धहरूको भूमि
निग्लिहवा र गोटीहवाको भ्रमणविना लुम्बिनी यात्रा अधुरो रहन्छ । । यी स्थानहरूले यस क्षेत्रको आध्यात्मिक विरासत गौतम बुद्धभन्दा पनि पुरानो भएको प्रमाणित गर्दछन् ।
निग्लिहवाः यस स्थानलाई कल्पका सात बुद्धमध्ये एक, कनकमुनि बुद्धको जन्म र बुद्धत्व प्राप्तिको स्थल मानिन्छ । यहाँ पनि सम्राट अशोकले स्थापना गरेको अर्को स्तम्भ रहेको छ, जुन हाल टुक्रिएको अवस्थामा छ ।
गोटीहवाः यस स्थानलाई क्रकुच्छन्द बुद्धको निर्वाण स्थलको रूपमा चिनिन्छ । यहाँ पनि अशोक स्तम्भको भग्नावशेष रहेको छ ।
४. सागरहवाः शाक्यहरूको बलिदानको साक्षी
तौलिहवाबाट करिब ९ किलोमिटर उत्तरमा अवस्थित सागरहवा, बौद्ध इतिहासको एक दुःखद अध्यायसँग जोडिएको महत्वपूर्ण पुरातात्विक स्थल हो । भनिन्छ– आफ्नी आमाको वंशलाई लिएर भएको अपमानको बदला लिन गरिएको यो नरसंहार रोक्न भगवान बुद्धले तीन पटकसम्म प्रयास गरे पनि सफल हुनुभएन । ७ औँ शताब्दीका चिनियाँ यात्री ह्वेन साङको यात्रा विवरणको आधारमा पहिचान गरिएको यस स्थलमा सन् १८९७ मा भएको उत्खननले मारिएका शाक्यहरूको सम्झनामा बनाइएका १७ वटा स्तुपका अवशेषहरू फेला पारेको थियो ।
यी स्थलहरूको भ्रमणले यो भूमि अनादिकालदेखि नै आध्यात्मिक चिन्तन र ज्ञानको केन्द्र रहेको कुराको बोध गराउँछ । यी पुरातात्विक स्थलहरूको भ्रमणले बुद्धको जीवन र तत्कालीन समयको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशलाई गहिरोसँग बुझ्न मद्दत गर्छ । यहाँ गरिने भग्नावशेषहरूको अवलोकन इतिहाससँगको जीवन्त संवाद हो, जसले ज्ञानको क्षितिजलाई फराकिलो बनाउँछ ।
तेस्रो दिनः सांस्कृतिक सम्पदा र शान्त बिदाइ
लुम्बिनी यात्राको अन्तिम दिन स्थानीय संस्कृति, प्रकृति र शान्त वातावरणमा रमाउनका लागि छुट्याउन सकिन्छ, ताकि यहाँबाट फर्किंदा शरीर मात्र होइन, मन र आत्मा पनि भरिएको होस् ।
१. लुम्बिनी सङ्ग्रहालय र अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र
हवाई सेवा लिने हो भने भैरहवा एअरपोर्ट फर्कनुअघि बिहानको समयमा लुम्बिनी संग्रहालयको अवलोकन गर्न सकिन्छ । यस संग्रहालयमा कपिलवस्तु, तिलौराकोट र लुम्बिनी क्षेत्रबाट उत्खनन गरिएका हजारौँ पुरातात्विक वस्तु, मौर्यकालीन र कुषाणकालीन माटाका भाँडा, मूर्ति, सिक्का र बुद्धकालीन सभ्यताका अन्य दुर्लभ अवशेषहरू सुरक्षित राखिएका छन् । यसले यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक विकास क्रमलाई अझ राम्ररी बुझ्न र अघिल्लो दिनको यात्रामा देखेका सम्पूर्ण भग्नावशेषका कथालाई पूर्णता दिन्छ ।
२. शान्त प्रतिबिम्ब र प्रस्थान
लुम्बिनी यात्राको अन्तिम र सबैभन्दा महत्वपूर्र्ण चरण भनेको बाहिरी अन्वेषणलाई रोकेर भित्री मौनतामा डुब्नु हो । यसका लागि विभिन्न देशहरूले बनाएका सुन्दर ध्यान केन्द्र र विहारहरूभन्दा उत्तम स्थान अर्को कुन हुन सक्छ ? त्यहाँको आध्यात्मिक कम्पनले भरिएको वातावरणमा केही समय बिताउँदा पाहुनाले यी तीन दिनमा देखेका, सुनेका र अनुभव गरेका सबै कुराहरू मनको गहिराइमा बिस्तारै एकीकृत हुन थाल्छन् ।
यात्राको समापनमा पुनः एकपटक आफूलाई पवित्र उद्यानको त्यो अलौकिक शान्तिमा समर्पित गर्न सकिन्छ । केन्द्रीय नहरको किनारमा शान्तसँग बस्न र पानीमा बिस्तारै तैरिरहेका डुङ्गाहरूले समयको धीमा र शान्त गतिलाई प्रतिबिम्बित गर्छन् । दुवैतिरका अन्तर्राष्ट्रिय विहारहरूको सुनौलो छाना र कलात्मक शिखरहरूलाई नियाल्दै, यी तीन दिनमा एउटा पर्यटकले मनमा जम्मा भएको आध्यात्मिक ऊर्जालाई आफ्नो हरेक श्वासप्रश्वाससँगै भित्र तान्न सक्छ ।
यहाँबाट कुनै पनि यात्री केवल एक यात्रीको रूपमा होइन, एक तीर्थयात्रीको रूपमा फकिन्छ, जसले मनमा बुद्धको अथाह शान्तिको बीज, मस्तिष्कमा इतिहासको जीवन्त चेतना, र हृदयमा समस्त प्राणीप्रतिको करुणाको कोमल अङ्कुर लिएर प्रस्थान गर्दछ । यो त्यो अमूल्य उपहार हो, जुन लुम्बिनीले आफ्ना हरेक आगन्तुकलाई दिने गर्दछ ।
यात्रालाई पूर्णता दिने आश्रयः होटल रत्नसम्भव
लुम्बिनीको पवित्र भूमिमा जुन शान्ति र आध्यात्मिक ऊर्जा अनुभव हुन्छ, त्यसलाई आत्मसात् गर्न र मनन गर्न त्यति नै शान्त र सुविधा सम्पन्न आश्रय आवश्यक पर्दछ । होटलहरूका भीडमा, होटल रत्नसम्भव केवल बस्ने ठाउँ होइन; यो पर्यटकको अनुभवलाई लुम्बिनी यात्रालाई सार्थक बनाउने एक अभिन्न हिस्सा हो ।
१. शान्तिको केन्द्रमा रणनीतिक अवस्थिति
होटल रत्नसम्भव मायादेवी मन्दिरबाट केवल १.७ किलोमिटरको दूरीमा अवस्थित छ । लुम्बिनी परिसरको सबैभन्दा महत्वपूर्ण मानिने ३, ४ र ५ नम्बर प्रवेशद्वारबाट केही मिनेटको पैदल दूरीमा हुनुको अर्थ हो, पाहुना जतिबेला चाह्यो, त्यतिबेला पवित्र उद्यानको शान्त वातावरणमा पुग्न सक्छन् । यहाँबाट श्रीलङ्कन मोनास्ट्री, गोल्डेन टेम्पल र नेपालको वज्रयान महाविहारजस्ता प्रमुख आकर्षणहरू पाहुनाको सहज पहुँचमा छन् ।
२. सुन्दरता र आध्यात्मिक वातावरण
होटलमा प्रवेश गर्नासाथ रङ्गीन फूलहरूले सजिएको सुन्दर बगैँचा र प्रवेशद्वार नजिकै स्थापित रत्नसम्भव बुद्धको ध्यानमग्न मूर्तिले पाहुनालाई स्वागत गर्दछन् । ‘रत्नसम्भव’ पाँच ध्यानी बुद्धहरूमध्ये एक हुनुहुन्छ, जसले समानता र दानशीलताको प्रतिनिधित्व गर्नुहुन्छ । होटलको नामदेखि वातावरणसम्म हरेक कुराले बुद्धको सन्देश र लुम्बिनीको आध्यात्मिक गरिमालाई सम्मान गर्दछ । यहाँको शान्त र आकर्षक डिजाइनले पाहुनाको मनलाई स्वतः आनन्दित बनाउँछ ।
३. आतिथ्यताको जीवन्त अनुभवः सेवामा समर्पित मुस्कानहरू
होटल रत्नसम्भवको आत्मा यसका कर्मचारीहरूको व्यवहारमा बस्छ । ‘अतिथि देवो भवः’ को मर्मलाई आत्मसात् गरेका यहाँका कर्मचारीहरूको अनुहारमा सधैँ रहने न्यानो मुस्कान र सहयोगी भावनाले पाहुनालाई घरबाट टाढा भएर पनि घरकै जस्तो अपनत्वको महसुस गराउँछ । हरेक सानो आवश्यकतालाई ध्यानमा राख्दै प्रदान गरिने सेवाले पाहुनाको बसाइलाई केवल एक रातको विश्रामबाट पनि एक अविस्मरणीय अनुभवमा रूपान्तरण गरिदिन्छ ।
४. सुविधा र सन्तुष्टिको अनुपम सङ्गम
पाहुनाको बसाइलाई पूर्णरूपमा आरामदायी र सहज बनाउन होटलले हरेक आधुनिक सुविधा प्रदान गर्दछः
शीतलताः दिनभरको भ्रमणपछि वातानुकूलित तथा आरामदायी कोठाहरूले पाहुनालाई शीतल र आराम दिन्छन् ।
स्वादको यात्राः होटलको रेस्टुरेन्टमा बिहानको स्फूर्तिदायी नास्तादेखि नेपाली, भारतीय र कन्टिनेन्टल परिकारहरूको स्वादिष्ट भोजनसम्मको आनन्द लिन सकिन्छ ।
ताजगीको केन्द्रः तराईको गर्मीमा दिनभरको भ्रमणपछि, होटलको स्फटिक जलले भरिएको स्विमिङ पुलमा डुबुल्की मारेर आफ्नो थकान मेटाई र नयाँ स्फूर्ति प्राप्त गर्न सकिन्छ ।
सहजताः तीव्र गतिको निःशुल्क वाईफाई र सुरक्षित पार्किङले पाहुनाको बसाइलाई तनावमुक्त बनाउँछ ।
५. मूल्यमा उत्कृष्टता: होटल रत्नसम्भवले यो प्रमाणित गर्छ कि उच्चस्तरीय अनुभव सधैँ महँगो हुनुपर्दैन । यो ३–तारे होटलले प्रदान गर्ने सेवा, सुविधा र अविस्मरणीय आतिथ्यताको तुलनामा यसको मूल्य साँच्चिकै न्यायोचित छ । यहाँबाट फर्किने हरेक पाहुनाको साझा अनुभव यही हुन्छ । उनीहरूले तिरेको मूल्यभन्दा कयौँ गुणा बढीको सन्तुष्टि र सुखद सम्झना लिएर फर्किन्छन् । नेपालीहरूके लागि समर्पित भएकोले विशेष छुटको व्यवस्था गरिएको छ ।
जहाँ यात्राले सार्थकता पाउँछ
लुम्बिनीको यात्रा आन्तरिक खोज हो, आध्यात्मिक तीर्थयात्रा हो र इतिहाससँगको साक्षात्कार पनि । यो त्यो भूमि हो, जहाँ पाइला टेक्दा युद्ध र द्वेष बिर्सिन्छ र मनमा शान्ति र सद्भावको दियो बल्छ । तीन दिनको यो यात्राले पाहुनालाई जीवनको भागदौडबाट केही समयका लागि भए पनि टाढा लगेर आत्मचिन्तन र आत्मशुद्धिको अनुपम अवसर दिन्छ । तसर्थ, जीवनमा एकपटक अवश्य पनि यो पवित्र भूमिको भ्रमण गर्नुहोस् र बुद्धले जगाएको शान्तिको ज्योतिलाई आफ्नो हृदयमा पनि प्रज्वलित गर्नुहोस् ! लुम्बिनी आफ्नो अनन्त शान्तिको आँचल फैलाएर पाहुनालाई स्वागत गर्न आतुर छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij