२०८३ भाद्र ३१ गते बुधवार
१. भदौ ७ गते पहिलो दिन (काठमाडौं बाट प्रस्थान)
सनातन वैदिक परम्परा र धार्मिक आस्थाको धरोहर मानिने श्री गुरु गोरखनाथको पावन पात्र देवतातलाई गोसाइँकुण्ड लगेर स्नान गराउने परम्परा सदियौंदेखि निरन्तर रुपमा चल्दै आएको छ । यही पवित्र धार्मिक परम्परालाई निरन्तरता दिन काठमाडौंको ऐतिहासिक एवं आध्यात्मिक भूमि मृगस्थलीबाट गोरखनाथ टोली निस्किने निश्चित भयो । उक्त टोलीमा पात्र देवताको सुरक्षाको लागि दुईजना नेपाल प्रहरी, दुई जना श्री पात्र देवतालाई आदरपूर्वक बोक्ने पात्रधारीहरू र बाँकी अन्य सहयोगी तथा श्रद्धालु भक्तजनहरू गरी जम्मा ३९ जनाको समूह सहभागी भएका थियौँ ।
हामी ३९ जनाको टोली गुरु गोरखनाथको पात्र देवतालाई शिरमा राखी श्रीनाथ संप्रदायको पात्र देवता भएको स्थान काठमाडौँ महानगरपालिका वडा नं. २४ स्थित बसन्तपुर प्रवेश गरी नेपाली सेनाको गुर्जुु पल्टनले बढाईं र बाजागाजासहित त्यहाँबाट दिउँसो ३ बजे बिदाई भएर यात्रातर्फ अघि बढ्यौं । मनमा गुरु गोरखनाथको अनन्त भक्ति, ओठमा जय गोरखनाथको जयघोष र आँखामा नीलकण्ठ महादेवको निवास स्थान गोसाइँकुण्ड पुग्ने तीव्र अभिलाषा थियो । यात्राको पहिलो दिनको गन्तव्य नुवाकोट र रसुवाको सिमानामा रहेको धार्मिक स्थल उत्तरगयास्थित राममन्दिरसम्म थियो ।
काठमाडौँ छोडेर अघि बढ्ने क्रममा नौविसे गल्छी हुँदै त्रिशूली नदीको किनारैकिनार गाडी अघि बढ्यो । भदौको महिना भएकाले नुवाकोटको हरियाली फाँटहरू, उर्लदो त्रिशूली र आकाशबाट अविरल परिरहेको भदौरे झरीले वातावरणलाई बेग्लै किसिमको जिवन्तता दिएको थियो । बेत्रावती पुग्दा साँझ परिसकेको थियो । बेत्रावती, त्रिशूली र फलाखु खोलाको संगमस्थल हो । जहाँ उत्तरगया धामको रूपमा मानिसहरू पितृश्राद्ध र धार्मिक स्नान गर्दछन् । सोही क्षेत्रमा अवस्थित राममन्दिरको शान्त प्राङ्गणमा हामीले पात्र देवतालाई सुरक्षित स्थानमा राखि, साँझको आरती र भोजन गरि पहिलो दिनको बास बेत्रावतीमा बस्यौँ ।
२) भदौ ८ गते दोस्रो दिन (बेत्रावतीदेखि धुन्चेसम्मको यात्रा)
८ गते बिहानीको पहिलो किरणसँगै उत्तरगया बेत्रावतीमा नित्यकर्म सकी, गुरु गोरखनाथको पूजा आरती गरियो । बिहान ठीक ७ बजे बेत्रावतीबाट हाम्रो टोली र रसुवाको सदरमुकाम धुन्चेतर्फ प्रस्थान गर्यो । बेत्रावतीबाट उकालो लागेपछि बाटो झनै घुम्ती र कठिन बन्दै गयो । कालिकास्थान (उचाइ १४०० मिटर) मा पुगेपछि आर्मी ब्यारेकमा गोरखनाथ टोलीलाई दही चिउराले स्वागत गरियो । त्यहाँबाट ११ बजे राम्चे र मुकुण्डे हुँदै अघि बढ्दा हाम्रो टोलीले बर्षातको समयमा पहाडी भूभागको वास्तविक कठिनाई महसुस गर्नथाल्यो ।
केही समय अघि परेको मुसलधारे वर्षाका कारण ठाउँ–ठाउँमा साना–ठूला पहिराहरू खसेका थिए । पहाडका भित्ताहरूमा झरिरहेका साना झरना र सडकमा बगेको भेल पार गर्दै हाम्रो गाडी बिस्तारै अघि बढिरहेको थियो । भदौको प्राकृतिक हरियाली, डाँडाकाँडालाई ढपक्कै ढाकेको सेतो हुस्सु र बादलको घाम छायाँको खेल हेर्दै साँझ ६ बजे हामी घुन्चे (उचाइ –२००० मिटर) आइपुग्यौँ । धुन्चे लाङटाङ राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पनि हो । त्यहाँ हामीले राष्ट्रिय निकुञ्ज र सुरक्षा पोस्टमा आवश्यक दर्ता प्रक्रिया पूरा गर्यौं । साँझ धुन्चेको स्थानीय पाहुनाघरमा बास बस्यौँ । धुन्चे पुग्दा नै कता कता चिसो हावाले स्पर्श गरिसकेको थियो र त्यहाँबाट सुरु हुने पैदल उकालो यात्राको लागि सबै साथीहरू मानसिक रुपमा तयार भइसकेका थिए ।
भदौ ९ गते तेस्रो दिन (धुन्चेदेखि चन्दनबारीसम्मको उकालो)
९ गते बिहान सदा झैँ बिहानको नित्यकर्म र आरती सकेर ३९ जनाको टोलीमा त्यहाँबाट ६ जना भक्तजनहरू समेत थप भइ जम्मा ४५ जनाको हाम्रो टोली ७ः३० बजे धुन्चेबाट गन्तव्यतर्फ लम्कियो । अब हाम्रा लागि गाडीको यात्रा सकिएको थियो र खुट्टाको भरमा गोसाइँकुण्डको उकालो चढ्नुपर्ने थियो । पात्र देवता बोक्ने पात्रधारी महाराजहरूले भक्तिभाव र सजगताका साथ देवता बोकेका थिए भने हामी अन्य साथीहरूले माथि कुण्डसम्म बास बसिञ्जेल सम्मलाई पुग्ने खानेकुरा केहीले चामल, केहीले तरकारी, कसैले त्रिपाल, म्याट कसैले खाजा चिउरा, चाउचाउ, दालमोठ र कसैले भाँडाकुँडा पालैपालो बोकेर उकालो लाग्यौँ ।
धुन्चेबाट घट्टेखोला (उचाइ – २२०० मिटर) पार गर्दै यात्रा अघि बढ्यो । घट्टे खोलामा काठका पुराना मिनी पुलहरू र काठका घट्टहरू देखिन्थे । त्यहाँबाट मिनी गोसाँईकुण्ड र खर्कहरूको बाटो हुँदै देउराली (उचाइ–२६०० मिटर) तर्फको उकालो बाटो सुरु भयो । घना सल्ला, धुपी र गुँरासको जङ्गलभित्रको बाटो अगाडिको झरीले गर्दा पैदल मार्ग चिप्लो र हिलाम्मे बनेको थियो । बाटोमा लेक लाग्ने खतरा हुने हुनाले हामी बिस्तारै लठ्ठीको सहारामा लेक नलाग्ने घरायसी औषधिहरू सेवन गर्दै गुरु गोरखनाथको नाम जप गर्दै, “आगे आगे गोरख जागे, पिछे पिछे दुनिया भागे” जय गोरखनाथ भन्दै यात्रा अघि बढाइरहेका थियौँ ।
देउरालीमा थोरै बेर थकाइ मारेर चियासँग सातु र मकै खाएपछि हामी पुन उकालोतर्फ लाग्यौँ । दिनभरिको निरन्तर हिंडाइ, हिलो बाटो, र चिसो हावाकोबीच साँझपख हामी चन्दनवारी अर्थात सिङ्गगोम्पा (उचाइ ३३०० मिटर) आइपुग्यौँ । चन्दनबारीमा रहेको प्रसिद्ध याक चीज उत्पादन केन्द्र र प्राचिन बौद्ध गुम्बाले टोलीको थकानलाई केही हदसम्म विर्साइदियो । त्यस दिन चिसो मौसम भएकाले तातो तातो गुन्द्रुकको झोल र भात खाएर केही साथीहरू पात्र देवताको साथमा बौद्ध गुम्बामा सुत्नुभयो । बाँकी हामी चाहिँ बाहिर थर्पुमा सुतेका थियौँ ।
भदौ १० गते चौथो दिन (चन्दनवारीदेखि पवित्र धाम गोसाइँकुण्ड प्रवेश)
१० गते विहान नित्यकर्म सकेर ७ बजे चन्दनवारीबाट हाम्रो उकालो यात्रा पुनः सुरु भयो । अब हामी उचाइ ३५०० मिटर भन्दा माथि पुग्यौँ । त्यहाँ होचा धुपी र झाडीहरूमात्र देखिन थाले । हामी चन्दनबारीबाट चोलाङपाटीतर्फ लाग्यौँ । उचाइ ३५५० मिटरको उकालो जाँदै गर्दा त्यहाँको चिसो हावा झरी र थकान भन्दा पनि एउटा भयानक खबरले हामीलाई स्तब्ध बनायो । तिब्बततिरबाट फुटेर आएको भीषण बाढीले हामीले केही घण्टा अघि मात्र छोडेर आएको बेत्रावती र त्यहाँको सिङ्गो बस्ती नै बगाएर लगेछ । यो दर्दनाक खबर सुन्नासाथ हाम्रो गोडा थरथर काँप्न थाले; शरीरमा तागत नै नरहेको झैं भयो । अघि बढ्ने हिम्मत जुटाउन गाह्रो भयो । बाटोमा आउँदा, टोलीका साथीले आफुले अध्ययन गरेकोे पुरानो स्कूल देखाउनु भएको थियो । तर त्यो स्कूल पनि बाढीले बगाएछ । भाग्यवश विद्यार्थी र शिक्षकहरू भने सबै ज्यान जोगाउन सफल भएछन् ।
विस्तारै खबरहरू अझ भयाबह आउन थाल्यो, टिमुरे, बेत्रावती, स्याफ्रुबेसी, त्रिशूली कतै पनि बाँकी छैन भन्ने समाचारले मनमा भयंकर डर र त्रास पैदा गरिदियो । फोन र इन्टरनेटका नेटवर्कहरू पूर्ण रूपमा ठप्प थिए । यता बाटोमा हिमताल फुटेर बाढीको वितण्डा, उता घरपरिवार, साथीभाइ, आफन्तसँग सम्पर्क टुट्दा उहाँहरू हाम्रो चिन्ताले छटपटाउनु भएको रहेछ । तर अनेकौं संकट, मानसिक तनाव र शारीरिक थकानका बाबजुद पनि हामीले हिम्मत हारेनौँ । काँपिरहेका गोडाहरूलाई दह्रो बनाउँदै शिवजीको नाम जप्दै प्रसिद्ध लौरीविनायक (उचाइ ३९९० मिटर) तर्फ लाग्यौँ । लौरी विनायकको उकालो अत्यन्त कठिन मानिन्छ । कठिन उकालो बाटो अक्सिजनको मात्रा घट्दै गएकाले धेरै साथीहरूलाई सास फेर्न गाह्रो भइरहेको थियो ।
तर गणेश हिमाल, लाङटाङ निरुङ र मनास्लु हिमशृङ्खलाको मनोरम दृश्यले मनमा नयाँ ऊर्जा भरिदियो । लौरीविनायकमा पुगेर एक छिन विश्राम गर्ने निर्णय गर्यौं । यात्रीहरूले लामो सास फेरे । लौरीविनायक काटेपछि बाटो थोरैमात्रै भए पनि चट्टानी र डरलाग्दो भिरको बाटो थियो । एकातिर ठूला चट्टान र अर्कोतिर हजारौं फिट गहिरो खोँच त्यसमाथि निरन्तर झरिरहेको शीत मिश्रीत भदौरे झरी र चिसो सिरेटो । बाटोमा बुद्धकुट, सरस्वतीकुण्ड, भैरबकुण्डका झलकहरू देखिन थाले । यी पवित्र कुण्डहरूको दर्शन गर्दै गुरु गोरखनाथको नाम जप गर्दै अन्ततः हामी बेलुका ६ बजे सकुशल गोसाइँकुण्ड (उचाइ ४३८० मिटर) पुग्यौैं । पवित्र कुण्डको दर्शनपछि मनमा एक किसिमको अलौकिक शान्ति मिल्यो । मोवाईल नेटवर्क पनि लाग्योे र घरमा आफन्तहरूसँग सम्पर्क भयो । हामी सकुशल रहेको थाहा पाएपछि परिवारजनमा पनि खुशीयाली छायो ।
गोसाइँकुण्डको चिसो र कुण्डको शान्त एवं दिव्य वातावरणले मनमा अद्भूत आध्यात्मिक आनन्द र लय पैदा भयो । साँझ पवित्र कुण्डको किनारमा आरती गरियो र पात्र देवतालाई कुण्ड नजिकैको मन्दिरमा राखी धर्मशालामा बास बस्यौँ । उच्च हिमाली क्षेत्र तथा समुन्द्र सतहबाट झण्डै ४४०० मिटरको उचाइमा रहेको गोसाइँकुण्डमा २ दिन बास बस्ने निर्णय भएको हुँदा अधिकांश तिर्थयात्रीहरूको टाउको दुख्ने समस्या देखियो भने टोलीका ५\६ जना साथीहरूलाई बान्ता हुने, ज्वरो आउने, गोडा झमझमाउने, पटक–पटक झाडा पखाला लाग्ने गरेको थियो । नजिकै नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चेक जाँच गर्दै दुई रात कुण्डमा वितायौँ ।
भदौ ११ गते पाँचौ दिन (गोसाइँकुण्ड लगायत अन्य कुण्डहरूमा दर्शन, पुजा र नित्यकर्म)
११ गते दिनभर गोसाइँकुण्ड परिसर र आसपासका अन्य उप–कुण्डहरू र सम्पूर्ण तीर्थस्थल घुम्यौं । हामीले गोसाइँकुण्ड मात्र नभई त्यसका आसपासमा रहेका भैरवकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड र नौ कुण्ड क्षेत्रका धार्मिक महत्वका स्थानहरू घुम्ने अवसर प्राप्त गर्यौं । ४३८० मिटरको उचाइमा रहेको यो नीलो कञ्चन तालको उत्पत्ति शिवजीले कालकुट विष सहन नसकी त्रिशूल रोपेर निकालेको जलबाट बनेको धार्मिक मान्यता छ । टोलीका सबै सदस्यहरूले यहाँ जप, ध्यान र स्नान ग¥यौँ ।
भदौ १२ गते छैटौँ दिन (जनैपूर्णिमाको अवसरमा नित्यकर्म पुजाआजा)
जनै पूर्णिमाको विशेष शुभमुहूर्तमा टोलीका सबै भक्तजनहरूले नित्यकर्म, पुजा सम्पन्न गरियो । त्यसपछी गुरु गोरखनाथको पात्र देवतालाई पूर्ण धार्मिक विधि–विधानका साथ गोसाइँकुण्डको पवित्र जलमा परिक्रमा गराइ स्नान गराइयो । पात्र देवता स्नान गराउँदाको दृश्य अत्यन्तै भावुक र श्रद्धापूर्ण थियो । ४५ जनाकै ओठबाट “जय गुरु गोरनाथ, हर हर महादेव” को ध्वनि गुञ्जायमान भएको थियो । पात्र देवता स्नान गराएर त्यहाँको सम्पूर्ण नित्यकर्म, धार्मिक अनुष्ठान सम्पन्न भएपछि हामी नियमित बाटो (धुन्चे) तर्फ फर्किने योजनामा थियौँ । तर अविरल झरी अनि तिब्बतबाट फुटेर आएको हिमताल कारण धुन्चे वेत्रावतीको बाटो पूर्ण रूपमा अवरुद्ध भएको खबर आयो ।
ठाउँ ठाउँमा पहाड नै खसेको, पक्की पुलहरू समेत बगाएको र धेरै मानिसहरूले अकालमा ज्यान गुमाउनुपरेको दुःखद् समाचारले हाम्रो मन रोयो । हामीसँग भगवानको नाम जप्न बाहेक अर्को उपाय थिएन । प्राकृतिक विनाशको यो पीडा र त्रासका बीच धुन्चेको बाटो फर्किन असम्भव भएपछि टोलीका अगुवाहरूले वैकल्पिक मार्ग रोज्ने निर्णय गरे ।
वैकल्पिक बाटोको रुपमा हामीले सूर्यकुण्ड पास (उचाइ ४,६१० मिटर) हुँदै सिन्धुपाल्चोक र नुवाकोटको सिमाना भएर काठमाडौँ फर्किने उकालो–ओरालो रोज्यौं । ४६१० मिटरको सूर्यकुण्ड भञ्याङ्ग पार गर्नु सहज थिएन । चिसो स्यांठले हानिरहेपनि सूर्यकुण्डको ठाडै उकालोे बाटो हामीले पार ग¥यौँ ँ। त्यसपछि सुरु भयो अनन्त ओरालो । जङ्गल, भिषण पानी, साना ठूला खोलानाला र डरलाग्दा भिरहरूको यात्रा । निरन्तर हिँडाइले केही साथीहरूको गोडाले साथ दिन छाडिसकेको थियो । कति तीर्थयात्रीहरू लेक लागेर मरे भन्ने खबर पनि सुनियो । तर पनि हामीले हिम्मत हारेनौँ, अघि बढ्यौं । कतिपय साथीहरूको गोडा सुन्निन थालिसकेको थियो; कतिपयका जुत्ता हिलोले च्यातिइसकेका थिए । कतै यसो भारी विसाउने ठाउँसम्म थिएन, बस्तीहरू कतैपनि थिएन । कतैकतै छाप्रोहरू भए पनि खाने कुराको राम्रो व्यवस्था थिएन । दुःख सुख गर्दै एकअर्काको हात समाउँदै, लौरोको सहारा लिँदै, हिलो बाटो र भिर पार गर्दै हामी साँझपख ‘तालु’ भन्ने दुर्गम ठाउँमा पुग्यौँ र गोसाइँकुण्डबाट फर्किएका हामी सबैले बिजुली बत्तीबिनाको अन्धकार रात त्यहाँको एउटा सानो कटेजको पिँढीमा काट्यौं ।
भदौ १३ गते सातौ दिन (तालुबाट, सिसिफुँसम्मको यात्रा)
१३ गते विहान ७ः३० बजे तालुको उराठलाग्दो बासस्थान छाडेर हामी पुनः पैदल अघि बढ्यौँ । बाटोमा खोलानाला पार गर्दै, झरीमा रुझ्दै, स्वास्थयले साथ नदिएको शरिर लिएर जसोतसो दिउँसो २ बजे तिर सिसिफुँ भन्ने ठाउँमा आइ पुग्यौँ । सिसिफुँमा हामीले खाना खायौँ । खाना खाइसकेपछि टोलीका म लगायत धेरै साथीहरूको खुट्टाको हालत एकदमै खराब भइसकेको थियो । गोडाको भर नै थिएन । मांसपेशीहरू कडा भइसकेका थिए । अगाडि सवारी साधन पाइने कुनै ठेगान थिएन । त्यसैले हिँड्न नसक्ने स्थिति भएपछि हामी केही साथीहरूले सिसिफुँंमै बस्ने निर्णय ग¥यौँ भने टोलीका केही बलिया साथीहरू भने पात्र देवताका साथ ध्याङफेदीसम्म पुग्न तयार हुनुभयो । भाग्यवस बस पाएपछि राती १२ बजे उहाँहरु काठमाडौँ पुग्नुभएको खबर प्राप्त भयो । हामी सिसिफुमा बसेका साथीहरूको दुःख देखेर स्थानीय होटलवाला साहुजीले ठूलो सहयोग गर्नुभयो । उहाँले विहान हाम्रो यात्राका लागि स्थानीय जीप (बोलेरो)को व्यवस्था गरिदिनुभयो । साहुजीको सहयोगले गर्दा हामी पनि सहज तरिकाले सिसिफुँंबाट घ्याङफेदीसम्म आइपुग्यौँ ।
घ्याङफेदी पुगेपछि हामीलाई अर्को राहत प्राप्त भयो । बाढी पहिरोका कारण ठाउँ ठाउँमा अलपत्र परेका तिर्थयात्रीहरूलाई उद्धार गर्न दुप्चेश्वर गाउँपालिका नुवाकोटले निःशुल्क रूपमा बस सेवा उपलब्ध गराएको रहेछ । गाउँपालिकाको यो परोपकारी र सह्राहनीय कार्यका लागि हामीले मनैदेखि धन्यवाद ज्ञापन ग¥यौँ । त्यही निःशुल्क बस चढेर हामी दुई दिनमा सकुशल काठमाडौं आइपुग्यौँ ।
यो यात्रा केवल एउटा भौगोलिक भ्रमण मात्र थिएन, एकातिर यो धार्मिक आस्था, धैर्य, शारीरिक परीक्षा र मानवीय सहयोगको एक अद्भुत सङ्गम पनि थियो भने अर्कातिर गुरु गोरखनाथको अनन्य भक्ति र धार्मिक परम्पराको संरक्षण, प्राकृतिक विपद्को भयावह रूप र साथीहरूबीचको आत्मीयता । यस यात्राबाट हामीले जीवनका अनेकौं आयामहरू सिक्ने अवसर पायौं । प्रकृतिको विषम परिस्थिति, बाढी पहिरोको त्रास र शारीरिक शिथिलताका बाबजुद पनि गुरु गोरखनाथको कृपा, भगवान् शिवको आशीर्वाद र साथीहरूको परस्पर सहयोगले हाम्रो यात्रा सफल बन्न पुगेको छ । यो यात्रा मेरो मानसपटलमा सधैभरि एउटा अविस्मरणीय र पवित्र अनुभवको रूपमा जीवित रहनेछ ।
अन्त्यमा, तिब्बतको हिमताल फुटेर ज्यान गुमाउनु भएका सम्पूर्ण मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
जय गुरु गोरखनाथ !
जय नीलकण्ठ महादेव !
(लेखक बाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग काठमाडौंमा शास्त्री तृतीय वर्षमा अध्ययनरत हुनुहुन्छ ।)
लेखक: विष्णु चूडाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij