Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको हुनसक्ने आशंका

दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको हुनसक्ने आशंका


  • 1.3K
    Shares

    दोस्रो विश्वयुद्धमा मारिएका मजदुरहरूको जापानी स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको हुनसक्ने आशंका
    images

    काठमाडौं । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ । अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ ।

    पश्चिमी यामागुची प्रान्तको चोसेई खानीको पूर्व स्थलमा कोरियाली गोताखोरहरूले यसै हप्ता तीनवटा हड्डी र एउटा खोपडी फेला पारेका थिए । प्रहरीको परीक्षणले ती सबै मानव अवशेष भएको पुष्टि गरेको छ ।

    तर प्रहरीको भनाइमा, ती हड्डी र खोपडी एउटै व्यक्तिका हुन् कि होइनन् भन्न वा उमेर र मृत्युको समय निर्धारण गर्न सकिएको छैन । किजामु काई नामक समूहले ती अवशेषहरू पक्कै पनि ८३ वर्षअघि खानीमा मरेका पीडितहरूकै हुनुपर्ने बताएको छ ।

    यस खोजले एक सय ३६ जना श्रम गर्न बाध्य पारिएका कोरियाली मजदुर र ४७ जना जापानी कामदारका अन्य अवशेषहरू पत्ता लगाउने उनीहरूको प्रयासलाई ठूलो बल मिलेको समूहको भनाइ छ ।

    यो खोज टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको शिखर सम्मेलनको केही दिनपछि भएको हो । उक्त सम्मेलनमा ऐतिहासिक मतभेदलाई बेवास्ता गर्दै सुरक्षा र व्यापार जस्ता महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको थियो ।

    चोसेई समुद्रतल खानी सन् १९१४ मा सञ्चालनमा आएको थियो । तर सन् १९४२ फेब्रुअरीमा खानीको छतको एउटा हिस्सा भत्किँदा पानी पसेर एक सय ८३ जना कामदारको मृत्यु भएको थियो ।

    यो दुर्घटना लामो समयसम्म बिर्सिएको अवस्थामा रह्यो । सन् १९९१ मा नागरिक समूहहरूले पीडितहरूका लागि स्मारक निर्माण गर्ने र पूर्व खानी स्थलको संरक्षण गर्ने प्रयास थालेपछि मात्रै यसबारे पुनः ध्यानाकर्षण भएको थियो ।

    इतिहासकारहरूका अनुसार, दोस्रो विश्वयुद्धअघि र युद्धका क्रममा जापानले लाखौँ कोरियाली मजदुरलाई जबरजस्ती लगेको थियो । अधिकांश जापानी पुरुषहरू युद्धको मोर्चामा पठाइएकाले ती मजदुरलाई खानी र कारखानामा श्रम अभाव पूरा गर्न प्रयोग गरिएको थियो ।

    वर्षौंको अनुसन्धानपछि किजामु काई समूहले गत वर्षदेखि समुद्रमुनि अवशेष खोजी सुरु गरेको हो । यसमा साक्षीका बयान र ऐतिहासिक अभिलेख सङ्कलन गरिएको थियो ।

    प्रधानमन्त्री इशिबाले यस वर्षको सुरुआतमा युद्धकालीन पीडितप्रति सहानुभूति व्यक्त गर्दै सुरक्षित रूपमा खोजी कसरी गर्ने भन्नेबारे विज्ञहरूसँग सल्लाह लिन अनुमति दिएको थियो ।

    जापानका मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले खानी दुर्घटनाका सबै पीडितप्रति समवेदना व्यक्त गर्दै सरकारले अवशेषहरूको परीक्षण गरिरहेको बताए । उनले अझै सुरक्षित रूपमा खोजी गर्न आवश्यक विशेषज्ञता सङ्कलन गर्ने काम बाँकी रहेको बताए ।

    तर किजामु काई समूहले आफ्नै प्रयासमा खोजी गरिरहेको छ । युद्धकालीन अवशेषहरूको जिम्मेवार निकाय जापानी स्वास्थ्य तथा कल्याण मन्त्रालय खोजीमा सहयोग गर्न अनिच्छुक रहेको बताइन्छ ।

    आलोचकहरूका अनुसार, जापानी सरकारले लामो समयदेखि युद्धकालीन अत्याचारबारे मौनता अख्तियार गरेको छ । यसमा एसियाली महिलाहरूको यौन दुव्र्यहार र दासत्व (विशेषगरी ‘कम्फर्ट वुमन’ भनेर चिनिएका कोरियाली महिला) तथा श्रम गर्न बाध्य पारिएका मजदुरको प्रयोगजस्ता मुद्दा पर्दछन् ।

    जापानी सरकारले भने सन् १९६५ को सामान्यीकरण सन्धिअन्तर्गत दुई देशबीचका सबै क्षतिपूर्तिका मुद्दा समाधान भइसकेको दाबी गर्दै आएको छ । तर कोरियालीहरूले जापानको औपनिवेशिक कालीन अत्याचारका लागि क्षतिपूर्ति मागिरहँदा दुवै देशबीच सम्बन्ध प्रायः तनावपूर्ण बन्ने गरेको छ ।

    यद्यपि, सन् २०२३ पछि चीनको बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वासिङ्टनको दबाबमा दुई छिमेकी देशबीच सम्बन्ध सुधार भएको छ, जसले सुरक्षा सहकार्यलाई प्राथमिकता दिने बाटो खोलेको छ । 

    प्रकाशित मिति :भाद्र ११ २०८२ बुधवार - १७:२१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij