२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेंगु सङ्क्रमण पनि बढ्न थालेको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार तीन हजार २४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा २११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यसैगरी, डेंगु सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।
कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेंगु सङ्क्रमण देखिएको प्रमुख डा दाहालले जानकारी दिए । पानी पर्ने क्रम जारी रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत उनले आग्रह गर्नुभयो ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएपछि त्यसले टोकेपछि डेंगु रोग लाग्दछ । डेंगु रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गरेको छ ।
सन् २०२४ मा डेंगु सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij