Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मितेरी सहकारी ठगी प्रकरणः धनराज गुरुङकी पूर्वपत्नी ज्योतिकै मुख्य भूमिका, बचत रकम सिस्टममा अद्यावधिक नगरी क्रिप्टोमा लगानी

मितेरी सहकारी ठगी प्रकरणः धनराज गुरुङकी पूर्वपत्नी ज्योतिकै मुख्य भूमिका, बचत रकम सिस्टममा अद्यावधिक नगरी क्रिप्टोमा लगानी


  • 337
    Shares

    मितेरी सहकारी ठगी प्रकरणः धनराज गुरुङकी पूर्वपत्नी ज्योतिकै मुख्य भूमिका,  बचत रकम सिस्टममा अद्यावधिक नगरी क्रिप्टोमा लगानी

    ललितपुर । ललितपुरको महालक्ष्मिस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

    ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो। 

    यो कसुरमा मुख्य भूमिका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको देखिएको छ। गुरुङ हाल फरार छिन् भने भण्डारीलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको छ। भण्डारीले उक्त कसुरमा गुरुङको संलग्नता खुलाएका छन्। अन्य प्रतिवादीहरूले पनि गुरुङकै मुख्य भूमिका देखाएका छन्। ज्योति गुरुङ सहकारीको रकम अपचलन गरेर भण्डारीलाई पठाउने र भण्डारी कम्बोडियामा बसेर ठगी गर्ने गरेको खुलेको हो। अन्यको पनि यस प्रकरणमा संलग्नता देखिएको छ। 

    बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्री पक्राउ परेका छन्। हाल फरार रहेका ५ जनालाई पनि प्रतिवादी बनाइएको छ। 

    फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३  वर्षका अर्जुन अराम छन्। 

    उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ। यस्तै उनीहरूकै मिलेमतोमा कम्बोडियाबाट पार्सल ३३ करोड ११ लाख रुपैयाँ पठाएको छ भन्दै उक्त रकम निकाल्न कमिसनबापत भन्दै थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेको आरोप छ। यो समेत गरेर ठगीमा १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको छ। 

    ज्योति गुरुङ मितेरी बचत तथा ऋण सहकारी संस्थामा सुरुवातमा सहायक स्तरको कर्मचारी थिइन्। २०५७ जेठ १२ गतेदेखि सहायक स्तरमा नियुक्त भएकी ज्योति २०५७ साउन २५ गते लेखापाल भएकी थिइन्। २०७० वैशाख ४ गते वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ गते महाप्रबन्धक पदमा बढुवा भइन्। 

    ज्योति गुरुङले सहकारी संस्थाको सम्पूर्ण आर्थिक कारोबारको जिम्मेवारी पाएकी थिइन्। तर आफूलाई प्राप्त अख्तियारीको दुरुपयोग गरी सहकारी संस्थामा बचतकर्ताहरूले जम्मा गर्न दिएको बचत रकम व्यक्तिगत प्रयोजनको लागि अपचलन गरी ठगी गरेको आरोप छ। मितेरी बचत तथा ऋण सहकारी संस्थामा मुद्दती खातामा रकम जम्मा गर्दा महाप्रबन्धक गुरुङले दिएको मुद्दती बचत कार्डमा सहकारी संस्थाको अध्यक्ष र लेखापालको दस्तखत, कार्यालयको छापसहित दिने गरेकी थिइन्। 

    तर मुद्दती बचतको अवधि पूरा भएपछि पाउनुपर्ने साँवा ब्याज रकम फिर्ता माग्न जाँदा ज्योति गुरुङले बनाएर दिएको मुद्दती बचत कार्डमा उल्लेख गरे बमोजिमको रकम सिस्टममा अद्यावधिक नगरी सो रकम आफैले व्यक्तिगत प्रयोजनको लागि चलाएको र सिस्टममा नदेखिएको थिइन्।

    सहकारी संस्थामा रकम अभाव भएपछि पाउनुपर्ने रकम बचतकर्ताले नपाएको भनि २४ जना बचतकर्ताहरूले ज्योति गुरुङलाई विश्वास गरी जम्मा गर्न दिएको बचत रकम अपचलन भएको अनुसन्धानको निस्कर्ष छ।

    सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङ, सचिव कृष्ण बहादुर राना, संचालक समितिका सदस्यहरू सुर्जबहादुर थापा, मोतिप्रसाद आले, हरिबहादुर रोका मगर, कर्मचारीहरू लेखापाल विजय कुमार राई, क्यासियर मिलन गुरुङ, क्लर्क लक्ष्मण दुराले ज्योति गुरुङले बचतकर्ता र ऋणीहरूलाई आफ्नै कार्यकक्षमा भेटी कुराकानी गरी मुद्दती बचत कार्ड जारी गर्ने र सो कार्डमा उल्लेखित रकम आफैले बुझेर सहकारीको खातामा जम्मा नगरेको खुलाइदिएका थिए।

    सहकारी संस्थाको अभिलेख राख्न प्रयोग गरिएको युनिक सफ्टवेयर गुरुङ र लेखापाल विजय कुमार राईले मात्र चलाउने गरेका थिए।  ज्योति गुरुङले बचतकर्ताबाट लिएको रकम सिस्टममा नजनाइ तथा कम जनाई बाँकी रकम आफ्नो व्यक्तिगत प्रयोजनको लागि अपचलन गरेको खुलेको छ।

    सहकारी संस्थाबाट ऋण लिँदा ज्योति गुरुङसँग भेटी निजले नै सम्पूर्ण प्रकृयाहरू अपनाई ऋण दिलाएको र ज्योति गुरुङलाई ऋण फिर्ता दिएकोमा सो रकम निजले नै चलाएर सहकारी संस्थाको सिस्टममा नजनाएर तिर्न बाँकी देखिएको अनुसन्धानको निस्कर्ष छ।

    ज्योति गुरुङले आफ्नी सानीआमा कमला गुरुङको पनि रकम अपचलन गरेको भेटिएको छ। सहकारी संस्थामा रकम जम्मा गरेकी कमलाले पछि फिर्ता माग्दा अहिले सहकारी संस्थामा रकम नभएको र थाइल्यान्डमा बस्ने एकजना साथीसँग व्यापार गर्दा सहकारी संस्थाको रकम चलाएको बताएकी थिइन्। रकम फिर्ता माग्न थाइल्यान्ड जान लागेको भनेकी ज्योति कमलासँग सिंगापुरमा एक महिना बसेकी थिइन्। 

    थाइल्यान्ड पुगेपछि होटलमा बस्दा ज्योतिले एकजना पुरुषसँग फोनमा कुरा गरी रकम फिर्ता गर्नु, रकम नभएसम्म नेपाल फर्कन नसक्ने बताएकी कमलाले कागज गर्दा उल्लेख गरेकी छन्। गुरुङले व्यापार साझेदारी गरेको भनेका व्यक्ति ज्योतिबहादुर भण्डारी भएको खुलेको छ। 

    २०७५ सालदेखि २०७७ सालसम्म ज्योति गुरुङले सहकारीको बचतकर्ताहरूको रकम आफूलाई नगदै दिन र आफ्नो खातामा जम्मा गर्न लगाउने गरेको कर्मचारीले बयान दिएका छन्। ज्योति भण्डारीले भने गुरुङसँग आफ्नो कुरा हुँदा सहकारीको रकम र अन्य साथीहरूको पैसा क्रिप्टोमा लगानी गरेको तर लगानी डुबेकोले कारोबार बिग्रिएको भन्दै नेपाल छोडेर अमेरिका जाँदैछु भनेको बयान दिएका छन्। 

    ज्योति गुरूङले सहकारीबाट अपचलन गरेको रकम नेपालबाट हुण्डी गराई थाईल्याण्ड, सिंगापुर लगायतको देशमा पठाउने गरेको खुलेको छ। सो काममा हुण्डीवालाहरू भरत गुरुङ, सुरेश अधिकारी, सुवास कार्की, राकेश भन्ने भारतीय नागरिक र मामा भन्ने व्यक्तिको संलग्नता रहेको भनि खुलाएका छन्। 

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १९:४१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij