Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्ण जन्माष्टमी, आज रथयात्राको तयारी

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्ण जन्माष्टमी, आज रथयात्राको तयारी


  • 330
    Shares

    रातभर जाग्राम बसी मनाइयो श्रीकृष्ण जन्माष्टमी, आज रथयात्राको तयारी

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व  देशभर भगवान् श्रीकृष्णको पूजा आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा-भक्तिपूर्वक मनाएका छन् ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले कतिपय भक्तजनले भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको पूजा आराधना गर्दछन् ।

    यसरात भजन, कीर्तन गरेर व्रतालु रातभर जाग्राम बस्छन् । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ । शनिबार रातभर जाग्राम बसेका भक्तजनले आज भने श्रीकृष्णको जन्म भएको खुसीयालीमा रथयात्रा निकाल्दैछन् ।

    उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने तयारी भइरहेको जनाइएको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन् । 

    यसैगरी, गोकर्णेश्वर-८ स्थित बेँसीगाउँमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकाल्ने तयारी भएको वडाध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पूतना, कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यका पक्षमा लाग्नेको रक्षा र असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । 

    पापका पक्षमा लाग्नेको संहार गरी सज्जनका रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिएको खुसीयालीमा भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभा यात्रा निकाल्ने गरिएको हो ।

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १३:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij