२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधिमा भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५माको पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफू एआई मज्जाले चलाइरहेको बताए ।
‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।
तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए। उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममाम लगाउनु पर्ने बताए ।
उनले भने, ‘ बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो। मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ उनले भने, ‘ त्यसैले आकर्षणको केन्द्र भयो। यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ।’
उनले प्रविधिको प्रयोगमा युवाहरको आकर्षण बढाउनु पर्नेमा जोड दिए । ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ।’ उनले भने ।
आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आइसिटी र एआई अघि बढाउने सरकार नीति मन्त्रिपिषदबाट पास गरिसके समेत बताए । उनले भने, ‘म टेक्निकल क्षत्रको मान्छे हैन, एआईको पनि हैन। तर, कसरी आइसिटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी निति मन्त्रीपरिषदबाट पास गरेका छौँ। यसमा धेरै काम गर्न आवश्यक छ।’
संसारमा जुनसुकै प्रविधि आए पनि मानव मष्तिष्कलाई कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले एआईसग मान्छे डराएको देख्छु। तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन। यो सृष्टिलाई जित्न सक्दैन।’ उनले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij