२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किन्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भई कपन बस्ने ४२ वर्षको रामनन्दन ठाकुर र सप्तरीको बलानविहुल गाउँपालिका-६ घर भई गौरीघाट बस्ने ४१ वर्षका मिश्रीलाल यादव रहेका छन्।
बिहीबार पक्राउ परेका ठाकुरको साथबाट प्रहरीले हड्डी र खरानीको धुलो बरामद गरेको छ।
प्रहरीले यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेको ५ सय रुपैयाँमा बेचेको आरोपमा यसअघि २ जना पक्राउ परेका थिए। उनीहरूसँग हड्डी किन्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको काठमाडाैँ परिसरका प्रवक्त्ता एसपी अपीलराज बोहराले जानकारी दिए। उनीहरूले बनेपाका ६५ वर्षका राम शाहीको शव जलाउनेक्रममा हड्डी निकालेर बेचेका थिए।
यसअघि काभ्रेको मण्डनदेउपुर ५ घर भई काठमाडौँको गौरीघाट बस्ने गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरको कटारी नगरपालिका ८ घर भई गोठाटार बस्ने २४ वर्षका विनायक मैनालीलाई पक्राउ गरेको थियो।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनीहरुले ५ सय रुपैयाँमा जलाउँदै गरेको शवको हड्डी बेचेको स्वीकारेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij