२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको जानकारी दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा बाढीमा परेर नेपाली नागरिकहरु पनि बेपत्ता भएका भन्ने खबरले आफू निकै दुःखी भएको बताउँदै उनीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल थालेको उल्लेख गरिन् ।
‘हराएका नेपाली नागरिकहरुको खोजी तथा उद्धारका लागि भारत सरकारको समन्वयमा तदारुकताका साथ लाग्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएकी छु’ मन्त्री राणाले भनेकी छन् ।
साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।
हालसम्म कम्तिमा २२ नेपाली सम्पर्क विहीन भएको विवरण छ । जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्क विहीन भएको सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij