२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । पहिरो खसेर पृथ्वी राजमार्गको धादिङ खण्डमा ३ ठाउँमा सडक अवरुद्ध भएको छ ।
गजुरी गाउँपालिका-६ स्थित जरेखेत, गजुरी गाउँपालिका-४ स्थित जरे पुल र थाक्रे गाउँपालिका वडा नम्बर-७ स्थित सातकिलोमा सडक अवरुद्ध भएको हो ।
अवरुद्ध सडकमा एकतर्फी सञ्चालनमा आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका एसपी नरेश सुवेदीले बताएका छन् । जरे खेत र जरे पुलमा एकतर्फी सवारी सञ्चालन गरिएको छ । थाक्रे गाउँपालिका-७ स्थित सात किलोमा चाहिँ दुई तर्फ नै सवारी चल्न थालेका छन् ।
पहिरो खसेको ठाउँमा सडक विभागका प्राविधिक गएर अध्ययन गरिरहेका छन् । बिहान ३ बजेर २० मिनेटमा सड्क अवरुद्ध भएसँगै राजमार्गमा ७८० वटा सवारी होल्ड गरिएको छ । आदमघाट, मलेखु, सिम्ले, मझिमटार, खानीखोला, महादेववेशी, गजुरी र बेनिघाटमा सवारी साधन होल्ड गरिएको एसपी सुवेदीले बताएका छन् ।
ट्राफिक प्रहरीले खत्रीपौवा र विशालटारमा पनि सवारी साधन होल्ड गरेर प्राथमिकताको आधारमा आउजाउ गराइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij