२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । गत आर्थिक वर्ष २०८१\०८२ मा नेपालले भारत र बङ्गलादेशमा गरी साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ । नेपालले गत वर्ष वैदेशिक बजारमा विद्युत् निर्यात बढाउँदा एक वर्षमै साढे १७ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१\०८२ को अवधिमा भारतमा करिब १७ अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात गरेको जनाएको छ । त्यस्तै, भारत पछि बङ्गलादेशमा पनि गत वर्ष २६ करोड ६७ लाख रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको प्राधिकरणले जानकारी दिएको छ । निर्यातको कुल रकम १७ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि भएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।
नेपालले अहिले भारतको विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात गरिरहेको प्राधिकरणले जानकारी दिएको छ भने ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा भारत-बङ्गलादेश सीमामा रहेको बेहरामपुर-भेडामारा लाइनमार्फत नेपाली विद्युत् बङ्गलादेशसम्म निर्यात भइरहेको छ ।
विगतको तुलनामा पछिल्लो समय नेपालमा भारतबाट विद्युत् आयातको परिमाण क्रमशः घट्दै गएको ऊर्जा मन्त्री दीपक खड्काले बताएका छन् । उनले विद्युत् व्यापारमा नेपाललाई प्राप्त भएको यो उपलब्धिले ऊर्जा कूटनीति र आर्थिक समृद्धितर्फको यात्रामा महत्त्वपूर्ण कोशेढुङ्गा साबित भएको उल्लेख गरेका छन् । मन्त्री खड्काले नेपाललाई खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको बताएका छन् ।
विद्युत् निर्यातको यो सञ्जाल भारतमा सीमित नभएर गत वर्ष देखि बंगलादेशसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले ४० मेगावाट विद्युत् निर्यात हुँदै आएको छ ।
वर्षायाममा पानीको बहाव बढ्ने र उत्पादन बढ्ने समयलाई लक्षित गर्दै प्रतिस्पर्धी मूल्यमा भारतीय ऊर्जा बजारमा (डे अहेड र रियल टाइम मार्केट) निर्यात भइरहेको छ । भारतमा एनभीभीएनमार्फत मध्यकालीन सम्झौताका आधारमा समेत नियमित आपूर्ति भइरहेको छ।
ऊर्जामन्त्री खड्काले नेपाललाई ऊर्जामा आत्मनिर्भर देश बनाउने मात्र नभई ऊर्जा कूटनीतिको क्षेत्रमा पनि अग्रणी बनाउने दिशामा लैजाने बताएका छन् । मन्त्री खड्काले नेपाललाई विद्युत् निर्यातकर्ता देशको रुपमा चिनाउन योगदान दिलाउने यात्रामा प्रत्यक्ष अप्रत्यक्ष सबैको सहयोग रहेको समेत बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij