२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका( १ लसुनामा आँपको रुखमा बाधेका ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् ।
अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार राति छिमेकी महादेव टुडुको घर छेउ पुगेर काम्न थालेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा मृत भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि प्रहरीले अनुसन्धानका लागि मृतकको छोरा अनतलाल सोरेन, सोही स्थानका महादेव टुडु, लुखिराम टुडु, लखिराम टुडुलाई पक्राउ गरेको छ । अन्य फरार छन् भने फरारको पनि खोजी भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरेको छ
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij