२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपाली बजारमा बजाजको विद्युतीय स्कुटर ‘चेतक’ सार्वजनिक भएको छ । आइतबार एक कार्यक्रमकाबीच बजाजको बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक ३५०१ भेरियन्टको ईभी स्कुटर सार्वजनिक गरेको हो ।
आकर्षक फिचरका साथ उपलब्ध रहेको चेतक स्कुटरलाई ८० प्रतिशत चार्ज गर्न मात्र ३ घण्टा लाग्छ भने आईपी ६७ प्रमाणित मेटल बडीसहित तयार पारिएको चेतक ३५०१ विभिन्न मौसमको चुनौती सामना गर्न सक्षम प्रदान गर्छ । ३.५ किलोवाट आवरको ब्याट्री क्षमता भएको चेतक ३५०१ को मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपियाँ तोकेको छ ।
नेभिगेसन, म्युजिक नियन्त्रण, कागजात भण्डारण र कल ह्यान्डलिङ सहितको सुविधा रहेको यस स्कुटर विभिन्न रङका विकल्पहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
स्कुटरमा ३५ लिटरको अन्डर-सिट स्टोरेज हुनुका साथै स्मार्ट टीएफटी टचस्क्रिन कन्ट्रोल सुविधा पनि दिइएको छ ।
उक्त स्कुटर सार्वजनिक गर्ने क्रममा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चेतकले दुई पाङ्ग्रे ईभीको बजारमा नयाँ आयाम थप्ने अपेक्षा राखेका छन् ।
उनका अनुसार चेतकले यात्रालाई सुरक्षित बनाउँदै प्रयोगकर्ताको अपेक्षा अनुसारको सवारीलाई पनि यसले पुरा गर्ने छ । चेतक यही साउन २१ गतेदेखि हुने नाइमा एक्स्पोमा पनि देख्न पाइने कम्पनीले बताएको छ । बजाज चेतक ३५०१ ले एक प्रिमियम इलेक्ट्रिक स्कुटरको रूपमा आफ्नो दाबी अब प्रस्तुत गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij