२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । झापाको मेचीनगर नगरपालिका-९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक स्कुल भ्यानमा सवार २१ जना घाइते भएका छन् ।
पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान मागुरमाडीबाट पारिजात स्कुलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
भ्यान चालकसहित विद्यालयका बालबालिका र शिक्षक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार दुर्घटना स्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर उत्तर पर्छ ।
धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजवंशीको कमाण्डमा टोलीको सहयोगमा घाइते विद्यार्थी, शिक्षक र यातायात मजदुरको उद्धार गरेका थिए । दुर्घटनामा घाइते भएकामध्ये तीनजना विद्यार्थीको अवस्था मध्यम रहेको छ भने अन्य धेरैजसोको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र मदिरा सेवन नगरेको पुष्टि भएको छ भने तर स्कुल भ्यानको प्रविधिगत अवस्था भने कमजोर रहेको देखिएको छ ।
स्थानीयवासीले विद्यालय सवारीसाधनको नियमित निरीक्षण, मर्मत तथा चालकको दक्षतालाई अनिवार्य बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij