२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नेपाली ग्लोबल संस्थाले आइतबार बेलुका एक भव्य समारोहबीच नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड ’प्रदान गरिएको छ।
घिसिङ र शाहीको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले बताएका छन्।
अवार्ड समारोहलाई सम्बोधन गर्दै कुलमान घिसिङले भने, ‘१८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे। जहाँ बत्ती नै थिएन त्यहाँ पनि पुरायौँ। अहिले हरेक गाउँमा बत्तीको उज्यालो पुगेको छ। प्राधिकरण ठूलो घाटामा थियो, नाफामा ल्यायौँ। व्यक्ति परिवर्तन हुँदा समस्या देखिएको छ, तर समाधान गर्दै जानुपर्छ ।’
एक जिम्मेवार नागरिकको हैसियतले अब के गर्ने भनेर सोच्दै गर्दा ‘उज्यालो नेपाल’ अभियान सुरु गरेको घिसिङले बताएका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले स्वर्ग जस्तो देश, विविधता भित्र एकताको देश नेपाल आज विश्वको गरिब मुलुकको रूपमा चिनिएको तर यो स्थितिबाट मुलुकलाई माथि उठाउनु पर्ने बताएका छन्।
शाहीले कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दै अवार्डको श्रेय उनीहरूलाई समर्पित गर्ने घोषणा गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij