Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

पूर्वाधार विकास

कोशीमा एक वर्षमा ११४ किलोमिटर सडक कालोपत्र, ५३८ विपन्नलाई नयाँ घर

कोशीमा एक वर्षमा ११४ किलोमिटर सडक कालोपत्र, ५३८ विपन्नलाई नयाँ घर


  • 589
    Shares

    कोशीमा एक वर्षमा ११४ किलोमिटर सडक कालोपत्र,  ५३८ विपन्नलाई नयाँ घर
    images

    काठमाडौं ।  कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षमा पूर्वाधार निर्माणमा गरेको काम सार्वजनिक गरेको छ ।

     मन्त्रालयका मन्त्री भूपेन्द्र राईले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार, प्रदेशभर सडक, पुल, भवन, आवास लगायतका ७१३ वटा आयोजनाहरू सञ्चालन गरिएको छ । 

    तथ्याङ्क अनुसार प्रदेशभर ११३.८९ किलोमिटर सडक कालोपत्र हुँदा १७५.४९ किलोमिटर ग्राभेल र १७८.७६ किलोमिटर कच्ची सडक निर्माण भएको छ । यसैगरी, १६.७१ किलोमिटर आरसिसिरपिसिसी ढलान, ४७.९६ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम र ४९.४ कि.मी. सडक मर्मत गरिएको जनाइएको छ ।

    एक वर्षमा यातायातलाई थप सहज बनाउन १८ वटा सडक पुल र १६ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । ११ वटा बहुवर्षीय सडक आयोजना अन्तर्गत ११५.८९ किलोमिटर सडक थप निर्माण सुरु भएको छ ।

    ‘जनता आवास कार्यक्रम’ अन्तर्गत प्रदेश सरकारको स्रोतबाट २८४ घर र संघीय सशर्त अनुदानबाट २५४ घर गरी कूल ५३८ विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । मन्त्रालयले यस अवधिमा १३ सरकारी भवन, ६९ सामुदायिक भवन, ११ सभा हल, ४० विद्यालय पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको जनाएको छ । यसका साथै १५८ अन्य भवन तथा २७३ वटा सहरी सडक आयोजना पनि सम्पन्न भएको मन्त्री राईले जानकारी दिए । 

    यसैबिच विकास निर्माणमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीमाथि मन्त्रालयले कारबाही थालेको छ । हालसम्म १५ वटा आयोजना रुग्ण ९समस्याग्रस्त० रहेकोमा ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको मन्त्री राईले जानकारी दिए । 

    कालोसूचीमा परेका कम्पनीहरूमा सप्तकोशी जलाधार निर्माण सेवा, विशाल होम निर्माण सेवा र नागार्जुन निल गिरी जेभी रहेका छन् । यस्तै पी।एन।डी। निर्माण सेवा र गाउँबेसी कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ । 

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार विकास कार्यालय ओखलढुङ्गाको सिफारिसमा ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । मन्त्रालयका प्रवक्ता रमेश कुमार श्रेष्ठका अनुसार ठेक्का सम्झौता तोकिएको समयसीमा र मापदण्डअनुसार काम सम्पन्न नगर्ने कम्पनीलाई कानुनी प्रावधानअनुसार कालोसूचीमा राखिएको हो । ‘प्रदेश सरकारको ठेक्का सम्झौतामा सहभागी भएर पनि काम नगर्ने र सार्वजनिक सम्पत्तिमा नोक्सान पुर्‍याउने कम्पनीलाई अब कुनै प्रकारको छुट दिइँदैन । कानुन बमोजिम कारबाही गर्ने नीतिमा मन्त्रालय अडिग छ,’ पूर्वाधार विकास मन्त्री राईले भने । 

    सेवा प्रवाहलाई छिटो र प्रभावकारी बनाउन मन्त्रालयले आफ्ना कार्यालयहरू कोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भौतिक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयलाई एकीकृत गरी प्रदेशका १४ वटै जिल्लामा कार्यालय स्थापना गरिसकिएको मन्त्री राईले जानकारी दिए । 

    ‘कालोसूचीमा राख्न प्रस्ताव गरिएको निर्माण कम्पनीहरूको बैंक धरौटी जफत गरेर, कानुन बमोजिम थप कारबाहीका लागि मन्त्रालयमा प्रक्रिया अघि बढाइएको छ,’ मन्त्रालयका प्रवक्ता रमेश श्रेष्ठले भने । 

    ६७ प्रतिशत बेरुजु फर्छ्यौट

    मन्त्रालयले ६७ प्रतिशत बेरुजु फर्छ्यौट गरेको जनाएको छ । मन्त्री राईले आगामी दिनमा पूर्ण फर्छ्यौटको लक्ष्यसहित काम भइरहेको बताए । 

    मन्त्रालयका अनुसार आ।व। २०७५÷७६ देखि आ।व। २०८०÷८१ सम्म जम्मा  ५ अर्ब ९५ करोड ४९ लाख ५८ हजार ७१९।२८ बेरुजु रकम कायम थियो । यसमध्ये असुल गर्नुपर्ने बेरुजु १ करोड ९८ लाख ७८ हजार, पेस्की बेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार र नियमित गर्नुपर्ने बेरुजु  १ अर्ब ०१ करोड ९ लाख ७ हजार गरी जम्मा ४ अर्ब १ करोड ४४ लाख ३३ हजार फर्छ्यौट भएको छ । जुन कुल रकमको ६७।४१ प्रतिशत हो ।

    ‘गत वर्षदेखि निरन्तर सञ्चालन गरिएको बेरुजु फर्छ्यौट अभियानले सकारात्मक परिणाम देखाएको छ । यस अभियानलाई अझ प्रभावकारी बनाउन हामीले मातहतका निकायलाई सशक्त अनुगमन र कार्यसम्पादनमा जोड दिएका छौँ,’ मन्त्री राईले भने ।

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १५:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij