२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । सुमिरे टुर एन्ड ट्राभल्सले जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले चासो राखेको छ ।
विगत १० वर्षदेखि भिजिट भिषामा जापान पठाउँदै आएको सो ट्राभल्सको बारेमा संसदमा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव वेचविखन ब्युरोले चासो राखेको हो । ‘हामीले दुई दिनदेखि यो विषयमा चासो राखेका थियौ, तर अहिलेसम्म केही फेला परेको छैन’, प्रहरी उच्च स्रोतले भन्यो।
प्रतिनिधि सभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौँ रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाएका थिए । सो आरोपपछि प्रहरीको मावनवेचविखन ब्युरो सक्रिय भएको थियो । तर यो विषयलाई गोप्य राखेको छ । तर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सो ट्राभल्सको बारेमा कहीँ कतैबाट उजुरी नआएको बताए । ‘यस्ता विषयहरूमा प्रहरीको चासो हुन्छन् तर सो ट्राभल्सको हकमा कहीँ कतै उजुरी परेको छैन, संसदमा के के विषयहरू उठ्छन् त्यसमा हाम्रो ध्यान छैन’, प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले भने ।
उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले चासो राख्दा अध्यागमन विभागबाट भन्दा पनि ट्राभलबाट नै सबै विवरण लिनुपर्ने देखिएपछि प्रहरीले त्यतातर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । तर प्रहरीले अहिलेसम्म कुनै सामाग्री फेला पार्न सकेको छैन । सुमिरे ट्राभल्सको बारेमा प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अनुसन्धानको माग गरेका थिए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसदमा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको बताएका छन् । केही मानिसहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको पनि उनले बताएका थिए । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरेका थिए ।
‘आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्मा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने, र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ । तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्,’ सांसद खतिवडाले भनेका थिए ।
त्यसको काउण्टरमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोल प्रसाद अर्यालले सभामुखसमक्ष खतिवडाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । ‘हामीले कस्तो समाज निर्माण गरेछौँ रु काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्छ। ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौँ,’ उनले भने, ’संसदीय समिति वा उच्चस्तरीय आयोगको माग विषयान्तर गर्ने गरी हिजो यही सदनमा हामीमाथि निराधार आरोप लगाउने कोसिस गरियो। राजनीतिलाई पेसा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेसा–व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् ।’
उनले आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्सको नाम अनावश्यक जोडिएको भन्दै आपत्ति जनाएका थिए । ‘२०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसदमा छन् । अरुलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । हो म गर्वका साथ भन्छु– सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन,’ सांसद अर्यालले ’मेरो समय ठिकै चलेको छ, अरूको घडीको समय बिग्रेको छ भने म के भनौँ । हामीले पैसा लिएका छौँ र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु। होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु ।’
प्रहरीले अनुसन्धानमा चासो राखिरहेका बेला रास्वपाका कार्यवाहक सभापति समेत रहेका डीपी विरुद्ध भिजिट भिसा दुरुपयोग र मानव तस्करी विषयमा छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दर्ता भएको छ ।
प्रधानमन्त्री कार्यालयमा युवराज सफलले सो उजुरी दर्ता गरेका हुन् । सफलले प्रतिनिधिसभाको गत असार १५ गतेको बैठकमा सांसद अर्यालले आफू सुमिरे टुर्स एण्ड ट्राभल्स प्रा ली को सञ्चालक रहेको र वर्षौँदेखि जापानमा भिजिट भिसामा नेपाली नागरिक पठाउँदै आएको स्विकारे लगत्तै कार्यवाहक सभापति अर्यालविरुद्ध उजुरी दर्ता गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij