२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका- १ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
‘अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी आवागमन रोकेर सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ’, उनले भने ।
उनका अनुसार वर्षाका कारण विनयी त्रिवेणी-३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको हो । ‘अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ’, प्रहरी उपरीक्षक ढकालले भने ।
निरन्तरको वर्षासँगै पूर्व-पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन पानीको बहाव बढेपछि पटक पटक बगाउँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij