Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मेलम्चीको पानी वर्षायाममा पनि काठमाडौंमा वितरण हुने

मेलम्चीको पानी वर्षायाममा पनि काठमाडौंमा वितरण हुने


  • 1.4K
    Shares

    • images
    मेलम्चीको पानी वर्षायाममा पनि काठमाडौंमा वितरण हुने

    खानेपानीमन्त्री प्रदीप यादवले अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाधरुपमा काठमाडौंवासीका घर घरमा वितरण हुने दाबी गरेका छन्। मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब वर्षातको समयमा पनि काठमाडौंवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताएका हुन्।

    उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको सोमबार सफल परीक्षण भएको छ। वर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेका छौँ।”

    वर्षायाममा रिबर्मा खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा वितरण गरिने मन्त्री यादवले जानकारी दिए। उनले भने, “यो व्यवस्थाले उपत्यकावासीको दीर्घकालीन खानेपानी समस्याको दीगो समाधान गर्ने अपेक्षा गरिएको छ। अब काठमाडौँका नागरिकले वर्षायाममा पानीका लागि दु:ख पाउनु पर्दैन। हामी जिम्मेवार सरकार हौँ, जनताको प्राथमिकता बुझ्नु र समाधान गर्नु हाम्रो दायित्व हो।” 

    वर्षायामको बेला हरेक वर्ष मेलम्चीको पानी वितरणमा अवरोध हुँदै आएको थियो। वर्षातको समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए।

    उनले भने, “त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु तयार भइसकेका छन्। हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परिक्षण गरिएको छ। अब वर्षातको समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन।” विगतमा वर्षा र बाढीका कारण मेलम्ची सुरुङ बन्द गर्नुपरेको इतिहासलाई ध्यानमा राख्दै, यसपालि प्रविधि र पूर्वतयारीमा विशेष ध्यान दिइएको कार्यकारी निर्देशक ई लामिछानेले बताए।

    मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू त्यहाँ २४ सै घण्टा खटिएका छन् भने बाढी लगायतको उच्च जोखिमलाई समेत मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको जनाइएको छ।

    बिसं २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्‍याएको क्षतिपछि वर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - ०७:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij