Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आईसीसी विश्वकप लिग–२

नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो

नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो


  • 1.7K
    Shares

    नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो

    नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा विपक्षीलाई पन्छाउन सफल भएको छ। ‘डेब्यु’ खेलमा नै नन्दन यादवले घातक बलिङ गरेपछि नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी भएको हो।

    पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। डच टोलीमाथि नेपालको यो दोस्रो जित हो। स्कटल्यान्ड भ्रमणका क्रममा नेपालले लिग–२ को चारमध्ये तीन खेलमा जित निकालेको छ। पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको नेपाली टोली दोस्रो खेलमा भने घरेलु टोलीसँग २ रनले पराजित हुन पुगेको थियो।

    मंगलबार राति सम्पन्न खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स चार बलअगावै २ सय २० रन बनाउँदा अलआउट भयो। नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। कप्तान स्कट इडवार्डस्ले ३० रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट हुन पुगे।

    ओपनर माइकल लेविट २७ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। नोह कोइस २२ रन बनाउँदा कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा नै परे। स्कटल्यान्डलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो। पहिलो बलमा एक् रन दिएका करणले दोस्रो बलमा विकेट लिएपछि डच टोली अलआउट हुन पुग्यो।

    नेदरल्यान्ड्सलाई रोक्न नेपालका सन्दीप लामिछाने, नन्दन यादवले समान ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए। कुशल भुर्तेल र करण केसीले एक विकेट झारे। 

    किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट झारे। ओडीआइमा डेब्यु खेल खेलेका नन्दनले ३ विकेट लिए। नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ३ विकेट लिए। 

    स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेदरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा  २ सय ३६ रनको योगफल तयार पारेको थियो। 

    पहिला ब्याटिङ गर्ने क्रममा नेपाललाई १० रन पेनाल्टी लागेको थियो। ब्याटर बसिर अहमद ३७औँ ओभरको दोस्रो बलमा र ४०औँ ओभरको तेस्रो बलमा पिचको मध्यभागमा दौडिएपछि नेपालले १० रन पेनाल्टी स्वरूप पाएको थियो। नेदरल्यान्ड्सले दोस्रो ओभरमा पाएको अतिरिक्त १० रनबाट खेल सुरु गरेको थियो।

    आरिफ शेखले बनाएको ८४ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सम्हालिएको ब्याटिङ गरेका आरिफले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओडीआईमा आरिफले नेपालका लागि सर्वाधिक रन बनाएका हुन्।

    भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन थपे। भीमले ३८ बलमा ३ चौका प्रहार गर्दा माइकल लेविटको बलमा क्याच आउट भए। ६० बलमा १ चौका हानेका कप्तान रोहित पनि माइकलकै बलमा क्याच आउट हुन पुगे।

    ओपनर कुशल भुर्तेल १९ बलमा २ चौका सहयोगमा १८ रन बनाउँदा रोइलोफ भान डेर मेर्भेको बलमा बोल्ड आउट भए।

    २४ बलमा १ चौका सहयोगमा १६ रन बनाएका दीपेन्द्र सिंह ऐरी लेविटकै बलमा क्याच आउट भए। बसिर अहमद ११ रन बनाउँदा आर्यन दत्तको बलमा म्याक्स ओ डाउडको हातबाट क्याच आउट नै भए। करण केसी पनि ११ रन बनाउदा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने २ रनमा रन आउट भए। 

    अनिल शाह २ रनमा पेभेलियन फर्के। नन्दन यादव १० रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि माइकल लेविटले तीन विकेट लिए। पाउल भान मेक्रेनले २ तथा आर्यन दत्तले एक विकेट आफ्नो नाममा गरे।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०५:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij