२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालय बाहिर बिहीबार सञ्चारकर्मीमाथि भएको व्यवहारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो पेशागत जिम्मेवारीमा रहेर समाचार संकलन गरिरहेका फोटो पत्रकार उमेश कार्कीमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति प्रकाशन गरि आपत्ति जनाएका छन ।
नेपाल पत्रकार महासंघ काठमाडौ शाखाले सो घटनालाई न केवल व्यक्तिगत अपमानको रूपमा बरु सम्पूर्ण पत्रकारिता क्षेत्र, लोकतान्त्रिक मूल्य र संविधानले प्रत्याभूत गरेका अधिकारमाथिको निरंकुश हस्तक्षेपको रूपमा चित्रण गरेको छ । विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ कि नेपालको संविधान २०७२ को धारा १७९२०९क०, १९, २७ र ३५९४० ले सञ्चारकर्मीलाई अभिव्यक्ति स्वतन्त्रता, सूचना प्राप्तिको अधिकार र निष्पक्ष प्रेसको प्रत्याभूति गरेको छ ।
साथै सञ्चारकर्मी सुरक्षा नीति, २०७३ र फौजदारी संहिता, २०७४ का प्रावधानहरूले गालीगलौज, धम्की दिने, डरत्रास देखाउने र पेशागत काममा अवरोध पुर्याउने जस्ता क्रियाकलापलाई स्पष्ट रूपमा दण्डनीय मानेका छन् ।
शाखाका अनुसार यी सबै संवैधानिक र कानुनी प्रावधानहरूलाई उल्लंघन गर्दै वरिष्ठ अधिवक्ताबाट सञ्चारकर्मीप्रति देखाइएको व्यवहार निन्दनीय, आपत्तिजनक र प्रेस विरोधी छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यस्ता घटनालाई प्रेस स्वतन्त्रतामाथिको दुस्साहसपूर्ण आचरण भन्दै लोकतान्त्रिक मूल्य विपरीतको चिन्ताजनक प्रवृत्ति भएको बताएको छ । यस्ता घटनाले स्वतन्त्र पत्रकारितामाथि आत्मसेन्सरको वातावरण सिर्जना गर्ने खतरा रहेको र पत्रकारहरूको सुरक्षाविनाको अभिव्यक्ति स्वतन्त्रता केवल भ्रम मात्र हुने धारणा महासंघले व्यक्त गरेको छ ।
शाखाले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी र नेपाल बार काउन्सिललाई घटनाका दोषीबाट सार्वजनिक क्षमायाचना गराउने र आवश्यक कानुनी कारबाही प्रक्रिया तुरुन्त प्रारम्भ गर्न आग्रह गरेको छ । साथै सबै राजनीतिक दलहरू, सार्वजनिक पदधारीहरू र कानुनी पेशामा संलग्न व्यक्तिहरूलाई पत्रकारप्रति सम्मानजनक व्यवहार, संयमित भाषा र संवैधानिक मर्यादा पालना गर्न पनि अनुरोध गरिएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, “पत्रकारहरूको आत्मसम्मान, सुरक्षा र स्वतन्त्रता नै स्वस्थ लोकतन्त्रको मेरुदण्ड हो । त्यसैले पत्रकारहरूप्रति देखिने कुनै पनि प्रकारको असहिष्णु व्यवहारप्रति राज्य, राजनीतिक दलहरू, नागरिक समाज र कानुनी व्यवसायी सबैले गम्भीर प्रतिबद्धता देखाउनु अपरिहार्य छ ।” स्वतन्त्र प्रेसको रक्षा नगरी लोकतन्त्रको रक्षा सम्भव छैन भन्ने चेतावनी पनि महासंघले स्पष्ट रूपमा दिएको छ । यस्ता घटनाको दृढ प्रतिरोध नगरेसम्म लोकतन्त्र कमजोर बन्ने खतरा रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रस विज्ञप्तिमा उल्लेख गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij