Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ


  • 1.7K
    Shares

    • images
    कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष पक्राउ

    काजठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्।

    चौधरीविरूद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। गत जेठ १ गते पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका चौधरी मंगलबार आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीले खोजी गरिरहेको अवस्थामा चौधरी आफै प्रहरी कार्यालयमा उपस्थित भएको बताए। 

    चौधरीमाथि बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा अदालतले गत जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो।

    अदालतको पक्राउ पुर्जी जारी भएपछि चौधरीलाई पक्राउ गरी बुझाउन भन्दै इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो।

    चौधरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट २०७९ को निर्वाचनमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। चौधरीविरूद्ध यसअघि युवतीमाथि सामूहिक बलात्कार गरेको वडा प्रहरी कार्यालय बुटवलमा गत पुस २० गते जाहेरी परेको थियो। 

    घटना भने गत असोज ५ गतेको हो।

    कपिलवस्तु घर भई बुटवल बस्ने ती युवतीको तर्फबाट प्रहरीमा दिएको जाहेरीअनुसार घरबाट पसल गएकी उनलाई सन्तकुमार यादवले अर्धबेहोस बनाएर सिद्धबाबा मन्दिर लगेर औषधि मिसाएको पानी खान दिई अर्धबेहोस बनाएपछि देवीनगरस्थित एउटा घरमा लगी बन्धक बनाएर सामूहिक बलात्कार भएको उल्लेख छ। 

    जाहेरीमा सन्तकुमार र उनका साथी राजेश्वर चौधरीले बलात्कार गरेको र शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले युवतीलाई बन्धक बनाएको कोठामा गई उनको हात समाएर गालीगलौज गर्ने र यो कुरा कसैलाई भने मारिदिने धम्की दिएको उल्लेख छ। 

    प्रहरीले यो घटनामा सन्तकुमारलाई मात्र पक्राउ गरेर मुद्दा दायर गरेपछि उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। घटनामा संलग्न कमलेश र राजेश्वरमाथि अनुसन्धान नगरेको भन्दै पीडितका बुबाले गत फागुन २५ गते इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका थिए। 

    प्रहरी कार्यालयका पूरक जाहेरी परेपछि गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी पीडितको पहिचान सार्वजनिक गरिदिएका थिए। आरोपितबाटै पीडितको पहिचान सार्वजनिक भएपछि पीडितको तर्फबाट फेरि इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाका अनुसार जबरजस्ती करणी, बलात्कार जस्ता जघन्य घटनाका पीडित कसैको पनि पहिचान खुलाउन नपाइनेमा आरोपितबाटै पहिचान खोलिएको भन्दै पुनः जाहेरी परेको थियो।

    गाउँपालिका अध्यक्ष चौधरीले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी पीडित युवतीको चरित्रहत्या गर्दै उनको पहिचानबारे फेसबुक लाइभ गरिदिएका थिए।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १५:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij