Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभामा सांसदहरूले उठाए भत्तादेखि सडकसम्मका विषय

प्रतिनिधिसभामा सांसदहरूले उठाए भत्तादेखि सडकसम्मका विषय


  • 1.1K
    Shares

    • images
    प्रतिनिधिसभामा सांसदहरूले उठाए भत्तादेखि सडकसम्मका विषय

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य भूमिका निर्वाह गर्ने मर्यादापालकहरूको समस्या सुनुवाइ गर्न माग गरिन्।

    उनले भनिन्, ‘मर्यादापालकहरू सुरक्षामा खटिनुहुन्छ। उहाँहरूलाई खाजा र भत्ताको व्यवस्था गरिएको छैन। पोषणयुक्त खाजा र खानाको व्यवस्था गरियोस्।’ यसैगरी, सांसद विनीताकुमारी सिंहले सरकार जनता आवास कार्यक्रमबारे गम्भीर नदेखिएको बताइन्।

    उनले भनिन्,‘यो कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९/८० मा सिराहामा जम्मा ४८८ वटा घर निर्माणका लागि सम्झौता भएको थियो। तर हालसम्म पहिलो किस्तामात्र विनियोजन गरिएको छ। बाँकी किस्ता छिटोभन्दा छिटो विनियोजन गरिनुपर्छ।’

    सांसद विना जैसवालले बैंक तथा वित्तीय संस्थाहरूले निकै कम मूल्यांकनमा ऋणीको धितो लिलाम गर्ने गरेको विषय उठाइन्। त्यस्तै, कर्जा लिँदा विभिन्न खालका झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि नियामक नेपाल राष्ट्र बैंकले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्।

    बैंक तथा वित्तीय संस्थाको एटिएम सेवा चौबिसै घण्टा सञ्चालन गर्नुपर्ने माग पनि उनले गरिन्। सांसद शान्ति श्रेष्ठले आगामी आवका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा गरिबी हटाउन आशालाग्दो कार्यक्रम ल्याइएको भन्दै यसलाई बजेटमा समावेश गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

    उनले प्रत्येक जिल्लामा आवासीय विद्यालय निर्माण गरी सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्ने बताइन्।सांसद शिव नेपालीले लामो दूरीका एसी, डिलक्स सवारी तथा हवाईजहाजजस्ता साधनमा अत्यधिक भाडा असुल्ने तर सोही अनुसार गुणस्तरको सेवा नदिने गुनासो सर्वसाधारणको रहेको भन्दै यसलाई तत्काल रोक्न अनुगमन बढाउनुपर्ने माग राखे।

    सांसद सरिता भुसालले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रणमा चुनौतीपूर्ण बन्दै गएको त्यसमाथि युवाहरू झन् यसको कुलतमा फसिरहेकाले सरकारले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्नुपर्ने, खुला वितरणमा रोक लगाउनुपर्ने तथा बिस्तारै यसलाई ‘फेजआउट’ गर्दै लानुपर्ने बताइन्।

    सांसद शिशिर खनालले काठमाडौँ महानगरपालिका(२६ अन्तर्गत ठमेलबाट गोल्कोपाखा हुँदै गोगंबु चोकसम्म पुग्ने सडक केही विस्तार गरी कालोपत्र गरिएको वर्षौं भइसक्दा पनि सडकको बीचमा बिजुलीको पोल नहटाइँदा दुर्घटनाको जोखिम रहेको बताए।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १२:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij