Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

प्रहरी जवानसहित आठजना लागुऔषध कारोबारी नियन्त्रणमा

प्रहरी जवानसहित आठजना लागुऔषध कारोबारी नियन्त्रणमा


  • 5.6K
    Shares

    प्रहरी जवानसहित आठजना लागुऔषध कारोबारी नियन्त्रणमा

    वीरगञ्ज । हातहतियार तथा लागुऔषध किनबेच गर्ने गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    पर्सा प्रहरीले हातहतियार तथा लागुऔषध खरिद गर्न लगाउने र पछि त्यही हातहतियार लुट्ने गिरोहका एक जना प्रहरी जवानसहित ८ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने राजु रानामगर, रौतहट सखुहवा नगरपालिका–१ घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान अवधेशप्रसाद यादव, वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्दप्रसाद गुप्ता, कुँवर सिंह, वडा नम्बर १५ बस्ने नन्दन सिंह र रोशन सिंह छन् ।

    वैशाख ८ गते वीरगञ्ज –१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले भारतबाट आउँदै गरेको अवस्थामा मकवानपुर मनहरी गाउँपालिका–५ बस्ने राजु रानामगरलाई एक थान अटोमेटिक पेस्तोल र सोमा लाग्ने २ थान खाली म्यागजिनसहित पक्राउ गरेको थियो ।

    मगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा काठमाडौँमा बस्दै आएका लागुऔषध कारोबारी राम प्रजापतिले वैशाख ८ गते नै भारत रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ थान पेस्तोल १ लाख ५० हजारमा खरिद गरेको भनी खुल्न आएको प्रहरीले जनाएको छ ।

    सो मध्येको एक थान पेस्तोल र २ थान म्याग्जिन तथा लागुऔषध डाइजिपाम, नुर्फिन, फिनार्गन ३०० एम्पुल, निट्राभेट १२ सय ट्याब्लेट ल्याई वीरगञ्ज बसपार्कमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा प्रजापति बसेको अवस्थामा पक्राउ परेको आठै जनाको गिरोहले लुटपाट गरेको थियो ।

    उनीहरूले ती सबै लागुऔषध, पेस्तोल १ थान, म्याग्जिन २ थान, ४ वटा मोबाइल, प्रजापतिको दुवै कानमा रहेको सुनको मुन्द्रा २ थान र नगद ७ हजार लुटपाट गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

    लुटपाट गरी फरार भएका आठै जनालाई वीरगञ्जको विभिन्न स्थानबाट लुटपाट गरिएका हतियार र लागुऔषधसहित पक्राउ गरिएको उनले बताए ।

    पक्राउ परेकाहरूलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्दा उनीहरूले काठमाडौँ तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न आउने व्यक्तिलाई भारतको रक्सौल लगी सम्बन्धित कारोबारीसँग खरिद गराई ओसारपसार गर्न सहयोग गरेको खुलेको थियो।

    साथै, पछि पुनः गिरोहका सदस्यहरूले नै योजना बनाई खरिद गरिएको लागुऔषध, हातहतियारलगायत धनमाल लुटपाट गरी पुनः भारत तथा अन्य कारोबारीलाई बिक्री वितरण गर्ने गरेको खनालको भनाइ छ ।

    पक्राउ परेका आठै जना यस्ता अपराधिक कार्यमा पहिलेदेखि नै संलग्न रहेको खुल्न आएकाले यससम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।

     

    प्रकाशित मिति :बैशाख १२ २०७८ आइतवार - १६:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij