२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गत शुक्रबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना क्षेत्रस्थित गैरीगाउँको भित्री सडकमा जमिन भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन परिचालित भूगर्भविद्को टोलीले सम्भावित लोकेसन फेला पारेका छन् ।
प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी उक्त गाडीको सम्भावित लोकेसन पत्ता लगाइएको भूगर्भविद् कृष्ण पाण्डेले जानकारी दिए ।
उनका अनुसार गाडीमा चुम्बकीय वस्तु धेरै हुने भएकाले चुम्बकीय वस्तु पत्ता लगाउने प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरिएको हो । गाडी जमिनमुनि भासिएर हराएको ठाउँको वरपर यसरी प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको सङ्केत अन्य स्थानको तुलनामा निकै बढी आएको उनले बताए ।
पाण्डेका अनुसार गाडी भासिएको भनिएको स्थानको केही पूर्वतर्फ यस प्रकारको सङ्केत प्राप्त भएको हो । ‘हामीले एउटा टेन्टेटिभ लोकेसन पत्ता लगाइसकेका छौँ,’ उनले भने, ‘कति गहिराइमा छ भन्ने पत्ता लगाउन हामीसँग अर्को एउटा मेसिन छ । त्यो मेसिन प्रयोग गरेर गहिराइ पत्ता लगाउने कोसिस गर्दैछौँ ।’
शुक्रबार ना४च ४८३३ नम्बरको बोलेरो गाडी घाँस काट्ने मेसिन लोड गरी त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको थियो । जग लगाएर गाडीलाई निकाल्ने प्रयास गर्दा अचानक गाडी नै जमिनमुनि भासिएर बेपत्ता भएको हो ।
तीन दिनसम्म खोज्दा पनि पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टोलीलाई बोलाएर खोल्न लगाइएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij