२०८२ चैत्र २ गते सोमवार
कोशी प्रदेशका दुई प्रमुख धार्मिकस्थलको विकास समितिमा सत्तारूढ दलहरूबीच भागबन्डा भएको छ । खोटाङको हलेसी महादेव मन्दिर (हलेसी महादेवस्थान विकास समिति)मा नेकपा एमाले र सुनसरीको बराहक्षेत्र (बृहत्तर बराहक्षेत्र विकास समिति) नेपाली कांग्रेसको हिस्सामा परेको छ ।
यी दुवै धार्मिकस्थल प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत पर्छन् । कोशी प्रदेश सरकारको चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले यी दुई धार्मिक स्थलका विकास समितिमा पदाधिकारी नियुक्त गरेको हो ।
हलेसी महादेवस्थान विकास समितिको अध्यक्षमा एमाले हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष डिल्ली कुमार राई नियुक्त भएका छन् । सदस्यहरूमा एमालेकै बिन्दा भुजेल, कांग्रेसका हलेसी तुवाचुङ वडा नं. ५ का वडाध्यक्ष कुबेर राई र जसपाका जिल्ला सदस्य राजेश राई रहेका छन् ।
यसैगरी, बृहत्तर बराहक्षेत्र विकास समितिको अध्यक्षमा कांग्रेसका प्रकाश बस्नेत नियुक्त भएका छन् । सदस्यहरूमा कांग्रेसकै लक्ष्मीराज अधिकारी, टीका कुमारी श्रेष्ठ र एमालेका जिल्ला सदस्य प्रह्लाद भट्टराई रहेका छन् ।
हलेसी महादेव मन्दिर कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको निर्वाचन क्षेत्रमा पर्छ । राईले आफ्नै क्षेत्रमा पर्ने मन्दिरको समितिमा आफ्नै दलका कार्यकर्ता नियुक्त गरेका छन् ।
खोटाङबाट निर्वाचित दुवै सांसद मन्त्री बनेका छन् । एमालेका पाँचकर्ण राई सामाजिक विकास मन्त्री र कांग्रेसका भुपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
हिन्दू र बौद्ध धर्मको संगमस्थल मानिने हलेसी पूर्णरूपमा राजनीतिकरण भएको स्थानीयहरूको गुनासो छ । हलेसी धाममा महादेव (शिव), बसाह र भैरवका तीन गुफा छन् । धार्मिक मान्यता अनुसार यहाँ दर्शन गर्नाले खडेरीबाट मुक्ति पाइने, दुःखबाट मुक्ति मिल्ने, सन्तान लाभ हुने, पदोन्नति हुने र निरोगी रहिने जनविश्वास रहेको छ ।
महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहिनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएर बसेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
यस्तै, ‘धर्तीकै पहिलो तीर्थ’ भनेर चिनिने बराहक्षेत्र पौराणिक कथाअनुसार, भगवान विष्णुले बराह (सुँगुर)को रूप धारण गरी धर्तीलाई रसातलबाट बचाएको स्थान भएकोले पवित्र मानिन्छ । धार्मिक मान्यता अनुसार, यहाँ दर्शन र पूजा गर्नाले विशेष फल मिल्ने विश्वास गरिन्छ ।
नियुक्त भएका बराहक्षेत्र विकास समितिका सदस्य लक्ष्मीराज अधिकारीले आफ्नो नियुक्तिपछि सामाजिक सञ्जालमा प्रदेश सरकार, कांग्रेस संसदीय दलका नेता उद्धव थापा र उपनेता हिमाल कार्कीलाई धन्यवाद दिएका छन् ।
अधिकारीले फेसबुकमा लेखेका छन्, ‘धन्यवाद प्रदेश सरकार । औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्नु भएकोमा । साथै, हार्दिक आभार नेपाली कांग्रेस कोशी प्रदेश सभापति संसदीय दलका नेता पूर्वमुख्यमन्त्री आदरणीय माननीय उद्धव थापा ज्यू, नेका उदयपुर सभापति पूर्वमन्त्री संसदीय दलका उपनेता आदरणीय माननीय हिमाल कार्की ज्यूप्रति । प्राप्त जिम्मेवारी कर्तव्यनिष्ठ भई इमानदारिताका साथ निर्वाह गर्ने प्रण व्यक्त गर्दछु । जय बराह ।’
यी दुई मन्दिर विकास समितिमा नियुक्त भएकाहरूलाई भने बुधबार प्रदेश सरकारले नियुक्ति दिएको हो ।
प्रदेश सरकारले दुवै समितिका पदाधिकारीको कार्यकाल चार वर्षको हुने गठन आदेशमा उल्लेख गरेको छ । तर, हलेसी महादेव विकास समिति गठन आदेश २०८१ मा पदाधिकारीहरूको सेवा सुविधाबारे उल्लेख गरिएको छैन । सामाजिक विकास मन्त्रालयका सांस्कृतिक तथा पुरातत्व महाशाखा प्रमुख यादव प्रसाद दुलालका अनुसार पदाधिकारीहरूले बैठक भत्ता मात्र पाउनेछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij