२०८२ फाल्गुण ३० गते शनिवार
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यले कोरोना संक्रमण धेरै फैलिएको स्थानमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन्।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित छलफल (ब्रिफिङ) मा सीसीएमसीका सदस्यले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा नेपालगन्जमा जस्तै कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन नभनिए पनि निषेधाज्ञा जारी गरिएको छ। नेपालगन्ज सहरमा मात्र ७ सय ३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा त्यहाँ बाँके जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) सहित पर्सा, कास्की, दाङ, बाँके र रूपन्देहीमा संक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ। ठूला सहरहरूमा तत्काल बन्दाबन्दी नगरे अवस्था भयावह हुने सुझाव प्रधानमन्त्री ओलीलाई दिइएको एक मन्त्रीले जानकारी दिए।
यस्तै सीसीएमसीका सदस्यहरूले लामो दूरीका यातायात तत्काल बन्द गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिएका छन्। सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले यस विषयमा प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा बुझाउन सीसीएमसीका अधिकारीलाई निर्देशन दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij