२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पुनर्निर्मित धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । आज आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।
वि.सं. २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो ।
पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । मौलिकताको सम्बर्द्धन गर्दै आधुनिक रुप समेत यसमा दिइएको प्राधिकरणले जनाएको छ ।
धरहरामा विद्युतीय लिफ्ट र भर्याङको समेत व्यवस्था गरिएको छ । २२ औं तलामा महादेवको मुर्ति राखिएको छ । २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए । २०७५ पुस १२ गते प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन् । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’ प्रधानमन्त्री ओलीले आजको खुशियालीमा काठमाडौंवासीलाई घरघरमा दिपावली गर्नसमेत आग्रह गरेका छन।
प्रधानमन्त्री ओलीले धरहरा चढ्दा पेरिसको आईफिल टावर चढेको जस्तो अनुभव भएको पनि सुनाए । उनले भने,‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij