२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने बताएपछि विद्यालयहरूले तयारी थालेका छन् । परीक्षामा साढे ५ लाख विद्यार्थी सहभागी हुँदैछन् ।
शिक्षक आन्दोलनका कारण १२ को परीक्षा निर्धारित समय वैशाख ११ बाट हुने र नहुने अन्योल थियो । तर, परीक्षा बोर्डको मंगलबार बिहानको निर्णयपछि द्विविधा हटेको छ । केही विद्यालयहरूले भोलि विद्यार्थीहरुलाई प्रवेश पत्र लिन आउन सूचना जारी गरेका छन् । झापाको कन्काई माध्यमिक विद्यालयले सूचना निकालेर नियमित र आंशिक तर्फका दुवै परीक्षार्थीलाई भोलि प्रवेश पत्र लिन बोलाएको छ ।
‘राष्ट्रिय परीक्षा बोर्डले आगामी बैशाख ११ देखि सञ्चालन गर्ने परीक्षामा सामेल हुनका लागि प्रवेश पत्र बुझिलिन तोकिएको बमोजिमको समय तालिकामा विद्यालयमा उपस्थित हुनका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय र विद्यार्थीहरूले परीक्षा समयमै गर्न अनुरोध गरेको बताए ।
उनले भने,‘परीक्षा केन्द्र तोकिसकिएको छ । परीक्षा समय मै होस् भनेर हरेक अनुरोध आएको छ । आज पनि हामीले हरेक जिल्लाको परीक्षा समन्वय समितिलाई परीक्षा केन्द्र तोकिएको विद्यालयमा परीक्षा सञ्चालनको आवश्यक तयारी गर्न भनेका छौं ।’
साढे ५ लाख विद्यार्थीको भविष्य गाँसिएकाले यो परीक्षा सञ्चालन गर्नैपर्नेमा उनको जोड थियो ।
२१ दिनदेखि आन्दोलनमा रहेको शिक्षक महासंघले भने १२ को परीक्षामा सहभागी नहुने घोषणा गरिसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij