२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे ।
शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उनले सुरुमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । ‘यत्रो आन्दोलन चलिरहेको छ । हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भूसालले भने ।
विद्या भट्टराईलाई २०४६ सालको आन्दोलनदेखि आफूले चिनेको भन्दै उनले भने, ‘इमानको साक्षी बस्ने महिला हो उनी । उनी निस्किएकी छन् ।’
अर्थतन्त्रमा संकट, व्यापारी व्यवसायीमा निराशा र जनअपेक्षा पूरा हुन नसकिरहेकाले सरकारप्रति प्रश्न गर्नेहरूलाई जवाफ दिन ११ गते एमालेले शक्ति प्रदर्शन गर्न लागेको भनेर पनि उनले आलोचना गरे । ‘११ गते आई लभ यू केपी बा भन्ने रे !’ भूसालले भने, ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो ।’
देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।
‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उनले भने, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो । तर पार्टी कस्तो छ भने एमाले जस्तो । यो अवस्था हुनु देशको दुर्भाग्य हो ।’
एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरेपछि उनले सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसको आलोचना सुरु गरे । उनले कांग्रेसलाई ‘न लायक, न नालायक’ को संज्ञा दिए । ‘कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो । अरू नालायक भए त्यो लायक भएजस्तो देखिन्छ । अरू लायक भए नालायकजस्तो देखिन्छ,’ भूसालले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij