२०८२ चैत्र २ गते सोमवार
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ।
रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियाे।
न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हो। अब अर्को दिन संयुक्त इजलासमा पेशी तोकिने छ। लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिइन्।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो। तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेपछि रवि रुपन्देही कारागारमा छन्।
उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन्। उच्चको आदेश बदर गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिइसकेका छन्। सर्वोच्चमा प्रारम्भिक सुनुवाइपछि कागजात झिकाउने आदेश भएको छ।
सुप्रिम सहकारी ठगीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ।
उक्त रकममध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ। जीबी राई भने फरार छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij