२०८२ फाल्गुण ३० गते शनिवार
नवलपरासी । प्रकृतिको कुचिकारका रुपमा परिचित ७० वटा भन्दा धेरै गिद्ध एकै पटक मरेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ४ जीतपुरमा ७० भन्दा बढी गिद्ध एकै ठाउँमा मरेका भेटिएका हुन् ।
लोपोन्मुख सूचीका गिद्ध यति धेरै संख्यामा मर्नुको कारण विषादी हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । जीतपुर गाउँका खेतमा ती गिद्ध मरेको अवस्थामा भेटिएका हुन् । गर्मीयाममा मरेका ती गिद्ध व्यवस्थापन हुन नसक्दा सडेर दुर्गन्ध फैलिएको छ ।
स्थानीयबासीका अनुसार डोरीले बाँधेको अवस्थामा रहेका दुईवटा कुकुरको मासु खाएपछि ती गिद्ध मरेको अनुमान गरिएको छ । ती कुकुरलाई गाउँलेले विषादी दिएर मारेपछि बेवारिसे फालेका थिए । तिनै कुकुरको मासु खाँदा यति धेरै गिद्ध मरेका बताइएको छ ।
गिद्ध मरेको विषयमा पशुपंक्षी चिकित्सकले अनुसन्धान थालेका छन् । गिद्धको नमुना बटुलेर पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा पठाइएको छ ।
पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय परासीका प्रमुख डा. भरत काफ्लेका अनुसार गिद्ध विषादी खाएका कुकुरको मासु खाँदा मरेको अनुमान गरिए पनि रिपोर्ट आएपछि वास्तविकता खुल्नेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij