२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–२०२५ मा छनोट भएकी छन्।
विश्वभरिबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीतिलगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोट गर्दा डंगोल पनि सूचीमा परेकी हुन्।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यस वर्ष दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्रै छनोट भएकी छन्।
विश्वभरिकै सूचीमा राजनीति क्षेत्रबाट डंगोलसहित १९ जना छनोटमा परेका छन्। राजनीतिबाट छनोटमा पर्नेमा डंगोलसँगै थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि छन्। डंगोलले योङ ग्लोबल लिडरमा आफू छनोट भएपछि खुसी लागेको प्रतिक्रिया दिइन्।
‘यसरी छनोट हुँदा गर्व लागेको छ,’ उनले भनिन्, ‘संसारभरको यस मञ्चमा समग्र नेपालको पनि प्रतिनिधित्व गर्दै युवा नेतृत्वका रुपमा छनोट हुँदा थप खुसी लागेको छ।’
संसारभर नै सकारात्मक सन्देश दिने यस मञ्चमा आफू छनोट हुँदा त्यो समग्र युवाको प्रतिनिधित्व भएको आफूले महसुस गरेको उनले बताइन्। ‘यो छनोटले मलाई थप जिम्मेवारीबोध भएको महसुस गरेको छु,’ उनले भनिन्, ‘आफू जुन भूमिकामा छु, त्यहाँ रहेर अझ धेरै राम्रो गर्नका लागि प्रोत्साहन पनि मिलेको छ।’
‘मिस नेवा २०११’ की विजेता डंगोलले लिपि क्विनको समेत परिचय बनाएकी छिन्।
उनीसहितको टोली स्थानीय लिपिको संरक्षणका लागि नागरिकको घर, चोक, टोल र सडक हुँदै सार्वजनिक ठाउँमा ‘वर्कसप’ चलाएर उपत्यका हुँदै जिल्ला र विदेशसम्म ‘क्यालिजात्रा’को पहुँच पुर्याएको थियो।
उनलाई स्थानीय लिपिहरूको संरक्षणसँगै राजधानीको उपप्रमुख समेतको स्थानमा पुग्न सफल भएको भन्दै यसमा छनोट गरेको जनाइएको छ।
उनलाई सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तिकरण र शहरी नवप्रवर्तनमा समर्पित, एक ऊर्जावान नेतृ भएको तथा समावेशी शासन प्रणालीको पक्षधर भएर काठमाडौंका विविध समुदायको आवाजलाई प्रतिनिधित्व गर्न निरन्तर दत्तचित्त भएकाले छनोट गरेको उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij