२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानले आयोजना गरेको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गर्ने कार्यक्रम थियो।
त्यसका लागि प्रधानमन्त्री ओली समयमै खरिपाटी पुगेका थिए। पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गरे। अन्तिममा प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम थियो।
सुरुमा उनले नेपाली सेनाले लेखेर दिएको मन्तव्य वाचन गरे। त्यहाँ विभिन्न मुलुकका अधिकृत क्याडेट पनि सहभागी भएकाले प्रधानमन्त्रीले उनीहरुलाई अंग्रेजीमा सम्वोधन गर्नुपर्ने थियो। त्यसका लागि अंग्रेजीमा लिखित मन्तव्य तयार पारिएको थियो।
तर प्रधानमन्त्रीले अंग्रेजीमा सम्वोधन सुरु गर्ने वित्तिकै लिखित भाषणको सुरुको एक लाइन पढेपछि अरु पेज नै हराएछ। त्यसपछि ओलीले बाँकी पेज खोज्न थाले। तर पेज फेला नपरेपछि ‘थ्यांक्यू’ भन्दै प्रधानमन्त्री ओलीले सम्वोधन टुंग्याएका थिए।
प्रधानमन्त्री ओली प्रायः हेरेर भाषण गर्दैनन्। शुक्रबार ओलीले नेपाली सेनाले दिएको लिखित भाषण हेरेर पढेका थिए। तर अंग्रेजी भाषणको बीचमा प्रधानमन्त्री ओलीको सचिवालयले नयाँ शब्द घुसाउँदा पेज नै हराएको बताइएको छ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताएका थिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनीकरण र शान्ति सेनाका माध्यमबाट सेनाले दिएको योगदानको सराहना गरे। त्यस अवसरमा उनले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij