२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनको लागि आज मागपत्र बुुझाइएको छ । बालुवाटारमा नेपाली काँग्रेस र नेकपा एमालेसहितको जिल्लास्थित प्रतिनिधिमण्डले क्याम्पसको आवश्यक भौतिक पूूर्वाधार निर्माणसहित अध्ययन अध्यापनको लागि ध्यान दिन डोटीलाई बजेट निर्माणमा प्राथमिकता दिन आग्रह गरेको छ ।
प्रधानमन्त्रीसमक्ष मागपत्र प्रस्तुत गर्न पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरु गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआईसिंह गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपाको जिल्ला अध्यक्ष मञ्जु मलासीलगायत प्रधानमन्त्री निवासमा उपस्थित रहेको थियो ।
दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहतमा डोटी प्राविधिक आङ्गिक क्याम्पसको रुपमा सञ्चालन हुने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गरेको हो ।
प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै पुरानो गौरवपूर्ण इतिहास बोकेको डोटी विकासमा पछाडि परेको विषयमा आफू जानकार रहेकोले अब प्राथमिकतामा पर्ने विश्वास दिलाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij