२०८२ चैत्र २ गते सोमवार
रक्षामन्त्री मानवीर राईले देशमा अराजकता देखा परिरहेको बताएका छन्।
शनिबार काठमाडौँमा किरात राई कर्मचारी मञ्चले आयोजना गरेको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले इतिहासले तत्कालीन राज्यलाई फालेको, लिच्छवीकालीन, मल्लकालीन शासन फालेको उल्लेख गर्दै शाह र राणाहरु पनि आन्दोलनबाट फालिएको उल्लेख गरे।
उनले इतिहासमा फर्किनु भनेको मृत्युवरण गरेका पूर्खाहरूलाई पनि फर्काउने तर्क भएको बताए। राजतन्त्र फर्काउने कुराप्रति टिप्पणी गर्दै उनले राजतन्त्र फर्काउने कुरा सम्भव नरहे पनि प्रयास जारी रहेको बताए।
मन्त्री राईले आफूहरूले पनि विभिन्न नाममा आन्दोलन गरेको तर व्यक्तिको घरमा आगो लगाउने, लुट्ने, पत्रकार जलाउने काम नगरेको दाबी गरे। आफूहरूले मान्छेलाई जिउँदो जलाउने काम नगरेको भन्दै अहिले अराजकता देखिएको उल्लेख गरे।
रक्षामन्त्री राईले भने, ‘इतिहास पछाडि फर्किने भनेको हाम्रा मरेका बाउबाजे पनि फर्किन्छन् भन्ने हो। तर फर्काउन खोजिँदैछ। हामीले कसैले काँग्रेस, कसैले एमाले, कसैले माओवादी भएर आन्दोलन गरेका छौँ। त्यस्तो लुट्ने र प्रहरीमाथि गाडी गुडाउन हामीले खोजेनौँ। अलि अलि बारहरुसम्म भत्काएकै हो। तर हामीले व्यक्तिको घरमा आगो लगाएनौँ। पत्रकारहरुलाई आगो लगाएनौँ। पत्रकार र पत्रपत्रिकाको उद्योग माथि आगो लगाएनौँ। मान्छेलाई जिउँदो जलाएनौँ। हामीले लुट मच्चाएनौँ। आज त यस्तो खालको अराजक देखा पर्दैछ।’
मन्त्री राईले किरात राई समुदायका मानिसहरु बेइमानी हुन नहुने बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij