२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेका सात जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले एसएलसीको प्रमाणपत्र किर्ते गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।
सिआइबीले सोमबार पत्रकार सम्मलेन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा सिआइबीले अनुसन्धान अघि बढाएको थियो ।
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायत विवरण उनीहरूले सच्याएको पाइएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
त्यसरी थपघट गरी किर्ते मार्कसिट बनाएर त्यसैको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृती लिएका थिए ।
आफ्नो व्यक्तिगत लाभको लागि एसएलसीको मार्कसिट किर्ते गरेको आरोपमा सात जनालाई प्रहरीले आइतबार विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-५ बस्ने २८ वर्षीय मोहमद सिद्दिकी, जनकपुर महानगरपालिका-७ जिरोमाईलमा बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा घर भइ ललितपुरको महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा, मनाङका ३१ वर्षीय दिपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका-३ बस्ने ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरी घर भइ भक्तपुर मध्यपुर ठिमी-२ बस्ने २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँ छन् ।
मोहम्मद सिद्दीकी, सुभाषप्रसाद साह, मोहम्मद शाहिद राजा र दिपेन्द्र गौतमले विभिन्न अस्पतालमा काम गरेको पाइएको एसपी पन्तले बताइन् ।
सिद्दीकी विराटनगरको न्युरो अस्पतालमा, सुभाषप्रसाद जनकपुर चिल्ड्रेन अस्पतालमा, मोहम्मद शाहिद चाबहिलको दिर्घायू गुरू अस्पतालमा र दिपेन्द्र गौतम पश्चिम रूकुमस्थित चौरझारी मिसन अस्पतालमा कार्यरत थिए । उनीहरूमाथि लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद गरी अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij