२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्ना गतिविधि सञ्चालन गर्न १३ विभाग गठन गर्दै विभागीय प्रमुखहरू तोकेको छ ।
डेढ महिनाअघि सम्पन्न धुलिखेल बैठकले गठन गरेका विभागहरूमा संयोजक टुंग्याइएको हो । १३ जना पदाधिकारीलाई संयोजक तोकेर विभाग गठन गरिएको केन्द्रिय समितिका सचिव रमेश खतिवडाले जानकारी दिए । विभाग गठनसँगै महासंघले अब आफ्ना नियमित गतिविधिमा थप तीव्रता दिने उनको भनाइ छ ।
उनका अनुसार अध्यक्ष निर्मला शर्मालाई नीति परामर्श तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक तोकिएको छ । यस्तै वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्द्धन विभाग, उपाध्यक्ष नितु पण्डितलाई महिला तथा कानून विभाग, उपाध्यक्ष उमिदप्रसाद बागचनलाई प्रकाशन तथा समावेशी विभाग, महासचिव रामप्रसाद दाहाललाई संगठन तथा समन्वय विभागको संयोजक तोकिएको छ । यस्तै सचिव रमेश खतिवडालाई पत्रकार आचारसंहिता अनुगमन तथा मानवअधिकार विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीलाई आर्थिक स्रोत पहिचान तथा परिचालन विभाग र लेखा समिति संयोजक केसी लामिछानेलाई आर्थिक अनुशासन तथा कार्य मूल्यांकन विभागको जिम्मेवारी दिइएको छ ।
यस्तै महासंघमा व्यवसायिक पत्रकारहरुको आवद्धता बढाउन नयाँ सदस्यता र नवीकरणका लागी सबै शाखालाई परिपत्र गरिने भएको छ । अन्तिम समयमा आएर सदस्यतामा अल्झिँदा चुनाव समयमा नहुने यस अघिको समस्या आउन नदिन सदस्यता जुनसुकै बेला शाखाहरुमा आवेदन गर्न पाउने र बिधान अनुसार म्याद सकिनेबित्तिकै विधानअनुसार नवीकरण प्रक्रिया अनिवार्य अगाडि बढाउन लागिएको महासंघले जनाएको छ ।
साथै आफ्ना शाखाका सदस्यहरूको तस्बिरसहित नाम, स्थायी ठेगाना, नागरिकता नम्बर, कार्यरत मिडिया, मोबाइल नम्बर शैक्षिक योग्यतासहितको विवरण शाखाको वेबसाईट वा फेसबुकपेज मार्फत सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij