२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कैलालीमा एक सय भन्दा बढी विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चीन लगायतका देशका एक सय भन्दा बढी नागरिक बसोबास गरेर अस्वभाविक गतिविधि गर्दै आएको पाइएको छ ।
रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन् ।
विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसमा अस्वभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन् ।
निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागेको प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ । ‘जंगल क्षेत्रमा विगत हप्ता दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरुले अस्वभाविक गतिविधी गरिरहेको गुनासो प्राप्त भएपछि बिहीबार त्यहाँ पुगेका थियौँ,’ प्रजिअ हमालले भने, ‘उहाँहरू कुनै निकायको अनुमती नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको छ । सबै जनालाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिइएको छ ।’
अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई आफूहरू प्रकृतिमा रमाउने मान्छेहरु९नेचर लभर० भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए । तर, नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरूलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो ।
यद्यपी अनुगमनका क्रममा उनीहरूले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधि गरेको नपाइएपछि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ ।
घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ । सोही विषयमा समाचार सम्प्रेषण गरेपछि कैलालीको सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीबार दिउँसो हातपात समेत भएको छ ।
मिश्रमाथि घोडाघोडी नगरपालिका–१० को पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले हातपात गरेका हुन् । मिश्रले विदेशी नागरिक घोडाघोडीको जंगल क्षेत्रमा बसेर अस्वभाविक र रहस्यमय गतिविधि गरिरहेको र त्यसमा होटल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए ।
सोही विषयलाई लिएर उनीमाथि हातपात भएको हो । मिश्रमाथि हातपात गरिएको घटनाको पत्रकार महासंघको जिल्ला र प्रदेश कार्य समिति तथा विभिन्न संघसंगठनले विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । इलाका प्रहरी कार्यालय सुखडले हातपातमा संलग्न मध्येका शाहलाई भने नियन्त्रणमा लिएको जनाएको छ ।
स्थानीय प्रशासनले अनुमति बिना जंगल क्षेत्रमा बसोबास गरिरहेका विदेशी नागरिकलाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएपनि घोडाघोडी नगरपालिकाले भने संस्कृति आदानप्रदान गर्ने भन्दै स्वागत समेत गरेको पाइएको छ । रेन्बो फेमली ग्यादरिङ नाम दिएर केही महिनाअघि यसैगरी अछामको रामारोशन क्षेत्रमा समेत विदेशी नागरिक प्रवेश गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij