२०८२ चैत्र २ गते सोमवार
गुल्मी : विगत चार महिनादेखि सम्पर्कविहीन भएका गुल्मीका एक पुरुष मृत भेटिएका छन्। जिल्लाको इस्मा गाउँपालिका-१ का ५९ वर्षीय कुलबहादुर सुनार शनिबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुनार गाउँकै भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेका थिए।
प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा थिएनन्। घरबाट केही नभनी ४ महिनाअघि हिँडेका सुनारको सबै तिर खोजी गरिँदै आएको थियो।
मृत फेला परेका सुनारको शव कंकाल मात्रै रहेको छ। मृत फेला परेका सुनारले लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले पहिचान गरेको डीएसपी दाहालले बताए।
सुनारलाई घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij