२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
मन्त्री बन्नेहरुमा फ्लोर क्रस गर्दै मूख्यमन्त्री शाहीलाई विश्वासको मत दिनेहरु रहेका छन् । मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई आज पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरिएको छ । एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । ३९ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् ।
नेपाली काँग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिए र सरकार जोगियो ।
एमाले प्रदेश कमिटीले हिजो नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij