२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिए ।
मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् ।
‘आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्न खोजेका रहेछन् । तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्याएको छ । उनको अवस्था सामान्य छ,’ अर्यालले भने ।
अर्यालले अगाडि भने, ‘साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएका रहेछन् । सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएका रहेछन् । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको उनले बताएका छन् ।’
यो मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले छानबिन गरिरहेको भए पनि आज आवेगमा आएर उनले आत्मदाहको प्रयास गरेको अर्यालले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij