Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वराजा ज्ञानेन्द्र : पोखरामा एक महिना बसे, कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

पूर्वराजा ज्ञानेन्द्र : पोखरामा एक महिना बसे, कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?


  • 1.6K
    Shares

    • images
    पूर्वराजा ज्ञानेन्द्र : पोखरामा एक महिना  बसे, कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।

    पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । राजावादीहरु पनि उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने छन् ।

    त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतारेका छन् । उनीहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।

    राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल ९पीडीएफ०, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।

    राप्रपाबाट स्वागतको चाँजोपाँजो सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्‍याली तिनकुनेमा जम्मा हुने छ । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

    यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट र्‍याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

    यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि र्‍याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पुर्‍याउन जाने छन् ।

    राजावादीहरुको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिने भएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई ‘हाई अलर्ट’मा राखिएको छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - ११:४६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij