Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

ट्रम्पसँग एक्लै भेट्न ५० लाख डलर, १० लाख डलर तिरे सामूहिक!

ट्रम्पसँग एक्लै भेट्न ५० लाख डलर, १० लाख डलर तिरे सामूहिक!


  • 2.5K
    Shares

    ट्रम्पसँग एक्लै भेट्न ५० लाख डलर, १० लाख डलर तिरे सामूहिक!
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर-आ-लागो रिसोर्टमा एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन्।

    त्यस्तै ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनरका’ लागि प्रतिव्यक्ति १० लाख डलर तिरिरहेको भनेर खोज पत्रकारिताका लागि मानिने अमेरिकी पत्रिका वायर्डले लेखेको छ।

    गत शनिबारमात्रै मर-आ-लागोमा आयोजित उक्त ‘क्यान्डल लाइट डिनरका’ लागि १० लाख डलर तिरेर आफ्नो सिट बुक गर्न मागा (मेक अमेरिका ग्रेट अगेन) इन्कले दिएको एक निम्तो आफूसँग भएको वायर्डले दाबी गरेको छ। पहिलो आउने, पहिलो पाउने आधारमा बाँडिने त्यस्तो सिट सीमित रहेको भनेर सो निम्तोमा लेखिएको वायर्डले खुलाएको छ।

    मागा इन्क गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई सघाउन दर्ता गरिएको सुपर प्याक हो। अमेरिकामा हुने चुनावमा उम्मेदवारहरूलाई सघाउनका लागि पैसा उठाउन प्याक खोलिने गरिन्छ।

    सन् २०१० देखि खोल्न अनुमति दिइएको सुपर प्याकले उम्मेदवारहरूलाई समर्थन वा विरोध गर्न असीमित रकम संकलन गर्न र खर्च गर्न सक्छ। तर त्यस्ता सुपर प्याकले ती उम्मेदवारको चुनावी अभियानसँग प्रत्यक्ष तालमेल गर्न भने पाउँदैन। मागा इन्कले गत राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई जिताउन ४५ करोड डलरभन्दा बढी खर्च गरेको थियो।

    पहिलो कार्यकालको अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनाव प्रचार गर्न अमेरिकी राष्ट्रपतिले चन्दा उठाउने गर्छन्। तर ७८ वर्षीय ट्रम्पका लागि भने उनको दोस्रो कार्यकालको सुरूमै पैसा उठाइँदैछ। अमेरिकाको संविधानले राष्ट्रपतिका लगि दुई कार्यकालको सीमा लगाएको छ। तर चुनाव जितेपछि उनले आफ्ना सभाहरूमा समर्थकलाई २०२८ मा फेरि निर्वाचन लडौं भनेर जिस्किँदै सोध्ने गरेका छन्।

    ट्रम्पले अर्को निर्वाचन लड्न नपाउने भएकाले उनीसँग एक्ला-एक्लै भेट्न र खाना खान व्यापारीहरूबाट ५० लाख डलर उठाएर जम्मा पारिएको पैसा केका लागि खर्च गरिनेछ भन्ने प्रश्न उठेको छ। मर-आ-लागोमा आयोजित रात्रिभोजबारे जानकार एक ट्रम्प समर्थकले भने सो पैसा ट्रम्पका नाममा खोलिने पुस्तकालयका लागि खर्च गरिने बताएको वायर्डले लेखेको छ।

    अमेरिकामा राष्ट्रपतिको कार्यकाल सकिएपछि उनीहरूको नाममा पुस्तकालय खोलिने गरिन्छ। अरू पुस्तकालय जस्तो पाठकलाई पुस्तक दिनेभन्दा उक्त राष्ट्रपतिको कार्यकालका महत्वपूर्ण अभिलेख र कागजात संग्रहालयमा जसरी त्यहाँ राखिन्छ। निजी र संघीय सरकारबाट प्राप्त स्रोतबाट त्यस्ता राष्ट्रपतीय पुस्तकालय चलाइन्छ। तर राष्ट्रपतीय पुस्तकालयका लागि साधारणतय ट्रम्पको नाममा अहिले उठाइरहेको जति ठूलो रकम उठाउने गरिँदैन।

    व्यापारीहरूले एक्ला-एक्लै भेट्न र खाना खान ५० लाख डलर र सामूहिक भोजका लागि प्रति व्यक्ति १० लाख डलर तिरेर ट्रम्पलाई अनुचित प्रभाव पार्न सक्ने खतरा उत्पन्न भएको छ। त्यत्रो ठूलो रकम तिरेर उनलाई भेटेका व्यापारीले उनलाई फकाएर आफ्नो व्यापारका लागि फाइदा हुने निर्णय गराउन सक्छन् भन्ने शंका उत्पन्न भएको छ।

    उसै पनि ट्रम्प सरकार अमेरिकाका धनाड्यहरूसँग धेरै निकट रहेको भनेर आलोचना भइरहेको छ। ट्रम्पले चुनाव जितेलगत्तै अमेजनका मालिक जेफ बेजोस, मेटाका मार्क जकरबर्ग, माइक्रोसफ्टका बिल गेट्स लगायत अमेरिकाका सबभन्दा धनी व्यापारीहरूले उनलाई मर-आ-लागोमा गएर भेटेका थिए। उनको शपथ ग्रहण कोषका लागि दशौं लाख डलर दिए।

    बेजोसको द वासिङ्टन पोस्टले चुनावअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार कमला ह्यारिसलाई अनुमोदन गर्न ठिक्क परेको बेला बेजोसले कसैलाई पनि अनुमोदन नगर्ने निर्णय गरेर ट्रम्पलाई खुसी पारेका थिए।

    'टेस्ला' कम्पनीका मालिक र विश्वका सबभन्दा धनी व्यक्ति इलन मस्कले त ट्रम्पलाई चुनाव जिताउन २५ करोड डलरभन्दा बढी खर्च गरेका थिए। पहिले ट्विटर भनिने सामाजिक सञ्जाल एक्स पनि किनेका मस्कले एक्सलाई पनि ट्रम्पको समर्थनमा परिचालन गरे।

    ट्रम्पको मन्त्री चयनदेखि लिएर विदेशी सरकार प्रमुखहरूसँगको छलफलमा पनि मस्क सहभागी भएका थिए। मस्कको गुन तिर्न ट्रम्पले उनलाई डिपार्टमेन्ट अफ गभर्न्मेन्ट एफिसियन्सीको (डोज) प्रमुख बनाएका छन्।

    ट्रम्पले गत नोभेम्बरमा भएको चुनावअघि नै सरकारी सेवालाई चुस्त बनाउन विश्वका सबभन्दा धनी व्यक्ति मस्कको नेतृत्वमा एउटा निकाय बनाउने घोषणा गरेका थिए। चुनाव जितेपछि नोभेम्बरमै सो विभागको घोषणा गर्दा उनले मस्क त्यसको प्रमुख भनेर खुलाएका थिए।

    प्रकाशित मिति :फाल्गुण २१ २०८१ बुधवार - २०:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij