२०८२ कार्तिक १८ गते मंगलवार
काठमाडौं । नेकपा (एमाले) का नेता तथा कोशी प्रदेशसभाका पूर्वसांसद विमल कार्कीलाई एमालेले निलम्बन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले, कोशी प्रदेश कमिटीले कार्कीलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो ।
एमालेको कोशी प्रदेश कमिटीको गत मंसिर १६ को बैठकले पार्टी नेतृत्वको आलोचना गरेको भन्दै त्यस्तो गतिविधि गर्नुको कारणबारे स्पष्टीकरण मागेको थियो । त्यसको डेढ महिनापछि प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट उनलाई मुक्त गरेको हो ।
कार्की एमालेको प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य थिए ।
पार्टी नेतृत्वका विरुद्ध सामाजिक सञ्जालमा लगातार स्ट्याटस लेख्नेलगायत अनुशासनहीन कार्य गरेकाले उनलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।
आफूमाथि प्रश्न गर्नेविरुद्ध एमाले नेतृत्व पछिल्लो समय निर्मम ढंगले प्रस्तुत हुँदै आएको छ । विवादित व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा ग्रहण गर्न नहुने अभिव्यक्ति दिएका भीम रावललाई एमालेले पार्टीबाट निष्कासन नै गरिसकेको छ भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij