२०८२ कार्तिक १९ गते बुधवार
नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा चरम राजनीतिक हस्तक्षेप हुँदा पाँच महिनादेखि बढुवा प्रक्रिया अलपत्र परेको छ। भदौदेखि रिक्त एसएसपी पदको बढुवामा राजनीतिक दलका नेताहरूले कनिष्ठ र आफूनिकटलाई च्याप्न खोज्दा प्रक्रिया नै अवरुद्ध बनेको छ।
एक सातादेखि गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरबिच छलफल चलिरहे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन। गृहमन्त्री लेखकलाई उनको सचिवालयले तेस्रो र चौथो लटमा प्रहरी उपरीक्षक एसपी भएकाहरूलाई काखी च्यापेर बढुवा प्रक्रियामा अवरोध गरेपछि आइजिपी कुँवरले दोस्रो लटको पनि सिनियर एसपीहरूलाई मात्र एसएसपीमा बढुवा गर्ने अडान राखेका थिए। त्यसले गर्दा केही दिनदेखिको गृहकार्य पनि अवरोध भएको छ।
बुधबार साँझ एसएसपीको बढुवाका लागि गृहसचिव गोकर्णमणि दुवाडी, आइजिपी कुँवर र मानवस्रोत विभागका अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी तयारी अवस्थामा रहे पनि गृहमन्त्री लेखकको समय नमिल्दा रोकिएको थियो। बिहीबार बिहानै गृहमन्त्री काठमाडौंबाहिर गएपछि शनिबार साँझसम्म एसएसपीको बढुवा हुने सम्भावना निकै कमजोर भएको स्रोतको दाबी छ।
लामो समयदेखि नेपाल प्रहरीको कामकाजी तहमा बढुवा नहुँदा कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनमा समेत असर पर्ने बताइएको छ। एक वर्षको अवधिमा आठजना एआइजी अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र प्रहरी नायब उपरीक्षक डिएसपीका आकांक्षी पाँच महिनादेखि बढुवाको प्रतीक्षामा छन्। सरकारको ध्यान एआइजी बनाउनेमा मात्र केन्द्रित हुँदा एसएसपी, एसपी र डिएसपीको बढुवा समयमै हुन सकेको छैन।
एसएसपी बढुवाका लागि गृह मन्त्रालय र एसपी तथा डिएसपी बढुवाका लागि प्रहरी प्रधान कार्यालयले मूल्यांकन गर्ने व्यवस्था छ। एसएसपी बढुवाका लागि गृहसचिवको संयोजकत्वमा मूल्यांकन हुन्छ भने एसपी र डिएसपी बढुवाका लागि आइजिपी अध्यक्ष रहेको समितिले मूल्यांकन गर्छ। गत भदौयता एसएसपीका २५ पद रिक्त भएका छन्। ती पदका लागि ४० एसपी प्रतिस्पर्धामा छन्। सबै आकांक्षीले बढुवाका लागि शक्तिकेन्द्रबाट दबाब दिएका छन्। यसबाट एकातर्फ बढुवामा अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने अर्कोतर्फ बढुवामा ढिलाइ हुँदा तल्लो तहसम्मको वृत्ति विकास प्रभावित भएको प्रहरी अधिकृतहरूको गुनासो छ।
प्रहरी प्रधान कार्यालयले बढुवा तयारी भइरहेको जनाएको छ। ‘आवश्यक तयारी भइरहेको छ, चाँडै बढुवा हुनेछ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विश्व अधिकारीले भने।
भदौ १५ मा एसएसपीका १७ पद रिक्त भएका थिए। त्यसपछि एसएसपीका आठ पद रिक्त भएका हुन्। पद खाली भएको चार महिनासम्म पनि पूर्ति नहुँदा कामकाज प्रभावित बनेको विषयमा प्रहरी प्रधान कार्यालय संवेदनशील बने पनि बढुवाका आकांक्षीहरू शक्ति केन्द्र धाएकोमा असन्तुष्ट बनेको छ।
यसपटक २०५६ असार ३ र २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ फागुन १३ मा एसपीमा बढुवा भएका अधिकृत एसएसपीमा बढुवाका दाबेदार हुन्। त्यसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल २०५६ सालका भर्ना हुन्। रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, कृष्णप्रसाद कोइराला, जनार्दन जिसी, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगरलगायत बढुवाका आकांक्षी हुन्।
यसमध्ये रानाभाट धनुषामा एसपी हुँदा लागु औषधको कारोबारीसँग आर्थिक लाभ लिएको भन्ने पुष्टि भएपछि कारबाहीको सिफारिसमा परेका थिए। अहिलेकै आइजिपी कुँवर सचिवालयमा रहँदा उनलाई कारबाही गर्न खोजेका थिए। तर तत्कालीन अवस्थामा शक्तिकेन्द्रको दबाबमा परेपछि रोकिएको थियो।
उनको ट्र्याक रेकर्ड राम्रो नभएको प्रहरी प्रधान कार्यालयको दाबी छ। उनलाई सरकारी वकिल कार्यालयले बयान लिनुपर्ने भन्दै सिफारिस गरेको थियो। साथै एसपी थापा ललितपुर हनीट्र्याप काण्डमा मुछिएका थिए। उनको पनि बढुवाको सम्भावना निकै कमजोर छ। कँडेल पनि अपराध महाशाखामा इन्स्पेक्टर हुँदा यार्सा गुम्बा लुटपाटमा निलम्बनमा परेका थिए। विमल बस्नेतको पाँच वर्ष बढुवा रोक्ने निर्णय भएको छ। उनको पनि बढुवा हुने सम्भावना छैन।
प्रहरी महानिरीक्षकले कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेकालाई अगाडि ल्याउन नमानेपछि अहिलेको बढुवामा गृहमन्त्रीको खास चासो छैन। कांग्रेस विभिन्न नेतामार्फत ५६ नम्बरमा रहेका चक्र जोशी, ५० नम्बरमा रहेका योगेन्द्रसिंह थापा, ४५ नम्बरमा रहेका पदमबहादुर विष्ट, ३९ नम्बरमा रहेका भुवनेश्वर तिवारी, ४१ नम्बरमा रहेको सुरेश काफ्ले, ३८ नम्बरमा रहेको राजेन्द्र धमलाले आफूहरू जसरी पनि बढुवा हुनुपर्यो भन्दै दबाब दिएइपछि आइजिपीले यो त सिपाहीलाई एकै पटक बढुवाको फुली लगाएबराबर हुने भन्दै उनीहरूको बढुवामा अस्वीकार गरेका थिए। यसमा गृहसचिव गोकर्णमणि दुवाडीको पनि समर्थन रहेको छ। गृहसचिव गोकर्णमणि दुवाडीले पनि कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्ने अडान लिएका छन्।
‘कार्यसम्पादन मूल्यांकन हेरेर मात्रै बढुवा गर्न सकिन्छ, बढुवामा विवाद ल्याउनुहुँदैन,’ गृहसचिव दुवाडीको भनाइलाई उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो। उता आइजिपी कुँवरले पनि बढुवाको पालो सबैको एकपटक नआउने भएकाले चेन अफ कमान्ड नबिग्रिने गरी बढुवा प्रक्रिया अघि बढाउने अडान कायमै राखेका छन्। ‘सबैको पालो आउँछ। तेस्रो र चौथो लटबाट घुस्ने तयारी राम्रो होइन। सिंगो संगठनमा यसले समस्या उत्पन्न गराउँछ,’ आइजिपीको भनाइ उद्धृत गर्दैै स्रोतले भन्यो।
‘शक्ति केन्द्रको दबाबमा गृह मन्त्रालयमा धर्ना दिने र नेताहरूको घरघरमा धाउनेहरूले कार्यसम्दान मूल्यांकनमा अब्बल अधिकृतलाई पछि पार्न खोजेपछि आइजिपी वसन्त कुँवरले नमान्दा एसएसपी बढुवामा केही ढिला भएको र आइजिपीको अडानमा गृहसचिव गोकर्णमणि दुवाडी पनि साथ रहेको छ, त्यसकारण यसपटकको बढुवामा विवाद आउँदैन,’ गृह मन्त्रालय स्रोतले भन्यो। बिहीबार मात्रै गृहमन्त्री सचिव र आइजिपीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर बढुवाबारे जानकारी गराएका थिए।
दोस्रो लटबाट तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत एसएसपीमा बढुवाका दाबेदार हुन्। २०५८ साउन १८ मा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृत पनि अहिले एसएसपी बढुवा प्रतिस्पर्धामा छन्। होविन्द्र बोगटी, वेद विष्ट, सञ्जयसिंह थापा, शान्तिराज कोइराला, दयानिधि ज्ञवाली, प्रभु ढकाल, अमेरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, प्रवीण धिताल, प्रभुप्रसाद ढकाल, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, ऋषिराज कँडेल पनि बढुवाका आकांक्षी हुन्। कँडेल एसपी बढुवामा पछि पारिएका अधिकृत हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij