२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशको नाम परिवर्तनको प्रस्ताव गरेका छन् । गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक रहेको भन्दै उनले नेपालको नाम नै गोरखा राख्नुपर्ने बताएका छन् । ‘देशको नाम ‘गोरखा’ राख्नुपर्छ’ सांसद बजगाईंले सामाजिक सञ्जालमा लेखेका छन् । सांसद बजगाईं गोरखा निर्वाचन क्षेत्रनम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक हो । यो नामले देशको गौरवशाली इतिहासलाई प्रखर बनाउँछ ।
नाम परिवर्तनले मात्र समस्याहरू समाधान नहुने उल्लेख गर्दै उनले जनताको पहिचान र भावनालाई सम्मान गर्दै निर्णय गर्नुपर्ने बताएका छन् । साथै, संघीय राजधानी पनि काठमाडौंबाट अन्यत्र सार्नुपर्ने उनको मत छ । काठमाडौं सांस्कृतिक अतिक्रमण र अत्यधिक जनघनत्वले पीडित छ । यसलाई संरक्षित सांस्कृतिक सहर बनाउन राजधानी अन्यत्र सार्नु उपयुक्त हुन्छ । नयाँ संघीय राजधानीका सम्भावना तुलसीपुर, चितवन र पोखरामा रहेको पनि उनले बताएका छन् । काठमाडौंबाट संघीय राजधानी सारिए काठमाडौंलाई पर्यटक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने उनको मत छ ।
रैथानेहरूको संरक्षण गर्नुपर्ने, परम्परागत जीवनशैली विस्थापित हुन नहुने उल्लेख गर्दै उनी लेख्छन्, रैथाने समुदायको सांस्कृतिक अधिकार सुरक्षित गर्नुपर्छ । संरक्षित क्षेत्र घोषणा गरी समुदायलाई सहभागी गराई संरक्षण योजनाहरू बनाइनुपर्छ । ब्रान्डिङ र पहिचान परिवर्तनले नयाँ अवसर सिर्जना गर्ने उनको विश्वास छ । नेपालका लागि सांस्कृतिक जरा बचाउँदै आधुनिक पहिचान स्थापित गर्न नयाँ दृष्टिकोण आवश्यक रहेको उनले बताएका छन् ।
काठमाडौंको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, र दीर्घकालीन स्थायित्वका लागि यस्ता विचार र कदम महत्ववपूर्ण छन् । तर यसको कार्यान्वयन जनताको समर्थन र स्पष्ट रणनीतिबिना सम्भव छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij