२०८२ भाद्र ३ गते मंगलवार
सिन्धुपाल्चोक । भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा माध्यमिक विद्यालयस्तरीय अन्तर विद्यालय विशेष कविता वाचन प्रतियोगिता हेलम्बु-२, किउलमा अवस्थित भूमेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।
कविता प्रतियोगितामा विभिन्न आठ विद्यालयबाट सहभागिता जनाएका सोह्रजना विद्यार्थीहरूमध्ये सरस्वती माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा तामाङ सर्वोत्कृष्ट हुन सफल भइन् भने इस्ट पोइन्ट एकेडेमीकी आशिका के.सी. द्वितीय, आयोजक भूमेश्वरी मा.वि.की लक्ष्मी सुनार तृतीय र सर्वोदय मा.वि.की सिर्जना तामाङ तथा बोधिसत्व मोडल स्कुलका सिद्धार्थ पुरीले सान्त्वना स्थान हासिल गरे ।
कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिका डा.रमेश शुभेच्छु, माधव घिमिरे 'अटल' र जयराम बिडारीले गरेका थिए । सो अवसरमा पहिलो,दोस्रो,तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यालयले क्रमश: रू. ४ हजार, ३ हजार, २ हजार र १/१ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजेता विद्यार्थीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई तथा हेलम्बु गा.पा.का अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत प्रतिष्ठानका सदस्यहरू, कवि तथा साहित्यकारहरूले पुरस्कार वितरण गरेका थिए ।
हेलम्बु गाउँपालिकाको सहयोग, मेलम्ची साहित्य प्रतिष्ठानको सहकार्य तथा भूमेश्वरी माध्यमिक विद्यालयको आयोजनामा आयोजित विद्यार्थीसँग कुलपति तथा अध्यक्षसँग बालबालिका कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइको प्रमुख आतिथ्य, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रममा प्राज्ञद्वय डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, कवि डा. रमेश शुभेच्छु, कवि तथा पत्रकार माधव घिमिरे 'अटल', जयराम बिडारीलगायत व्यक्तित्वहरू आमन्त्रित थिए । मेलम्ची साहित्य प्रतिष्ठानका पदाधिकारी, शिक्षक, विद्यार्थी र साहित्यानुरागीहरूको समुपस्थितिमा आयोजित कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले आफूले हेलम्बुका बारेमा गीत,कविता,आख्यान मार्फत थुप्रै पढेको, सुनेको तर आफैँ प्रत्यक्ष आइपुग्दा हेलम्बु अत्यन्त सुन्दर लागेको बताए । आफूले सङ्घीयताको सफल रुपमा कार्यान्वयन हेलम्बुले गरिरहेको एवम् भिन्न संस्कार तथा संस्कृति एक आपसमा मिलेर बसेको पाएको बताए । त्यसरी हेलम्बु सबै भाषाभाषीहरूको सम्मिश्रणको अनुपम नमुना रहेको बताएका छन् । २०१४ सालमा स्थापित नेपाल प्रज्ञा प्रतिष्ठानले स्थानीय संस्कार र संस्कृतिलाई केन्द्रीकृत रूपमा नभई जनमनको भावनासँग जोड्नुपर्ने आवश्यकताको महसुस गरी ‘सबै भाषा, सबै ज्ञानः सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारा अङ्गीकार गरिएको बताउँदै विद्यालयमा कुलपति कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।
यसैगरी कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्वास्थ्य र शिक्षा निःशुल्क भएमा मात्र नागरिको जीवनस्तरमा सुधार आउने बताउँदै हेलम्बु गाउँपालिकाले आफ्नो सीमित स्रोत साधनका बाबजुद पनि नमुना योजनाको रूपमा यसमा लगानी बढाइरहेको बताए । उनले गाउँपालिकाको आन्तरिक स्रोतबाट १२ कक्षासम्मको निःशुल्क शिक्षा, दिवा खाजा, निःशुल्क विज्ञान तथा इन्जिनियरिङ शिक्षा, होटल म्यानेजमेन्ट लगायतका कक्षाहरू सञ्चालन गरिरहेको र निकट भविष्यमा कम्प्युटर साइन्स लगायतका अन्य कक्षाहरू थप गर्न लागिएको भन्दै आफ्नो पालिकामा स्नातक तहसम्मको अध्ययन समेत निःशुल्क गराउन लागिएको अवगत गराए ।
कार्यक्रममा अध्यक्ष शेर्पाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायतका टोली हेलम्बु आउनु खुसीको कुरा भएको बताउँदै विगतमा पनि धेरै कवि साहित्यकारहरू हेलम्बु आएको स्मरण गरे । सो अवसरमा उनले साहित्य सिर्जनाको लागि हेलम्बु उर्वरभूमि रहेको समेत स्पष्ट पारे ।
उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले वर्तमान संविधानले प्रदेश सरकार र स्थानीय सरकारलाई समेत प्राज्ञिक अधिकार दिएकाले अब प्रज्ञा प्रतिष्ठानले भाषा, कला तथा साहित्यको संरक्षण र सम्वर्धन गर्नका लागि अभियानको थालनी गर्न लागिएको बताउँदै प्रदेश र स्थानीय तहसम्म पुगेर सहजीकरण गर्ने बताए ।यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. मधुसूदन गिरीले बालबालिकाको अनुहारमा भोलिका प्रशासक,राजनीतिक नेतृत्व तथा प्रतिष्ठानको कुलपतिको छवि रहेको बताउँदै अनुकूल वातावरणमा यिनको संरक्षण गरिनुपर्नेमा जोड दिए । उनले भविष्यलाई काँधमा बोकिरहेका बालबालिकाको यथोचित विकासका लागि उनीहरूको प्रतिभा र क्षमतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने योजना बनाएर अघि बढ्न आग्रह गरे ।
सो अवसरमा अर्का प्राज्ञ डा. कृष्णराज अधिकारीले हेलम्बुको चर्चा धेरै पहिला देखि पढेको र सुनेको बताउँदै अहिले हेलम्बुमै आएर आफ्ना भनाइ राख्न पाएकोमा खुसी लागेको बताए । उनले बालबालिकाको भौतिक विकास सँगसँगै सामाजिक र शैक्षिक गुणस्तरको विकासमा जोड दिन आग्रह गरे । उनले प्रज्ञा प्रतिष्ठानलाई काठमाडौँमा मात्र सीमित गर्न नहुने भनेर गाउँ-गाउँका विद्यालयमा समेत यस्तै प्रभावकारी कार्यक्रमका माध्यमबाट पुग्ने गरेको बताए । प्रमुख अतिथिद्वारा द्वीप प्रज्वलन गरी समुद्घाटन गरिएको कार्यक्रममा विद्यार्थीहरूद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो भने सहभागी विद्यालयहरूलाई प्रमाणपत्र अर्पण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा मेलम्ची साहित्य सदनका अध्यक्ष यमबहादुर जोतीले अभ्यागतहरूलाई स्वागत गरेका थिए भने विद्यालयका शिक्षक ध्रुवबहादुर चौलागाईंले कार्यक्रमको सहजीकरण गरेका थिए भने सभाध्यक्ष मोदनाथ भण्डारीले धन्यवाद सहित सभा विसर्जन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij