२०८२ फाल्गुण ३० गते शनिवार
महोत्तरी । विद्यालयमा शिक्षकमाथि भएको दुर्व्यवहारको विरोधमा नेपाल शिक्षक महासंघ गौशाला नगर समितिले आज नगरका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएका छन् ।
पीडित शिक्षकलाई न्याय दिलाउन तथा दोषीलाई कारबाहीको माग गर्दै आज बिहान हुन लागेको विरोध प्रदर्शनमा सहभागी हुनका लागि त्यहाँका सामुदायिक विद्यालय बन्द गराएको हो ।
गएको चैत २६ गतेका दिन गौशाला नगरपालिका वडा नंं ९ का वडा सचिव उमाकान्त महतो र उनका भाइ राजेश महतोले त्रिभुवन माध्यामिक विद्यालयमा गइ शिक्षकहरुलाई दुर्व्यवहार गर्नुको साथै हातपातको समेत प्रयास गरेका थिए ।
त्यसैको विरोधमा नगरका सामुदायिक विद्यालयहरु एक दिनको लागि बन्दको घोषणा गरेको नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेतीले बताउनुभयो । न्याय नपाएको खण्डमा चरणवद्ध रुपमा आन्दोलन गर्ने उहाँको भनाइ छ ।
त्रिभुवन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक छात्रालाई कक्षामा ढिलो आउँदा शिक्षकले केही मिनेट कक्षा बाहिर उभ्याएका थिए । त्यसरी कक्षा बाहिर उभ्याइएकी छात्रा राजेश महतोकी श्रीमती हुन् ।
आफ्नी श्रीमतीलाई कडा अनुशासनमा राखेको भन्दै राजेश महतोले आफ्ना दाइलाई साथमा लिइ शिक्षकहरुसँग दुर्व्यवहार गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij